वासिङ्टनमा इजरेली-प्यालेस्टिनी वार्ताको तयारी

  • 29 जुलाई 2013
जन केरी
Image caption अमेरिकी विदेश मन्त्रीको महिनौ लामो प्रयासपछि मध्यपूर्व शान्ति प्रक्रियाले गति लिने संकेत मिलेको हो

इजरेली र प्यालेस्टिनी वार्ताकारहरुबीच सोमबार वासिङ्टनमा ताजा छलफल शुरु हुन लागेको अमेरिकाले बताएको छ।

दुवै पक्षबीचको वार्ता सन् २०१० देखि अवरुद्ध थियो।

तीन वर्षपछि शान्ति वार्ता फेरि थाल्ने विषयमा छलफल गर्न दुवै पक्षका वार्ताकारहरु वासिङटन भ्रमण गर्न राजी भएका हुन्।

अमेरिकी विदेशमन्त्री जन केरीको लामो समयदेखिको सक्रिय प्रयासपछि सोमबार साँझ वार्ता हुन लागेको हो।

अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताले इजरेली र प्यालेस्टिनीबीचको वार्ताले शान्ति प्रक्रियाको लागि बाटो खोल्ने आशा व्यक्त गरिन्।

'फलदायी'

जन केरीले विदेश मन्त्रीको पद सम्हालेपछि गत पाँच महिनामा छ पटक मध्यपूर्वको भ्रमण गरिसकेका छन्।

एक वक्तव्यमा केरिले भने, “दुवै पक्षले कठीन हुनसक्ने निर्णय गर्ने तत्परता देखाएका छन्; त्यसैले गर्दा नै यो विन्दुसम्म आइपुग्न सम्भव भएको हो।”

“उनीहरुको नेतृत्वदायी भूमिकाको लागि हामी आभारी छौं।”

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जेन प्साकीले सोमबार साँझ र मंगलबार हुने वार्ता फलदायी हुने विश्वास व्यक्त गरिन्।

उनले आइतबार विदेश मन्त्री जन केरीले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससंग वार्ताबारे टेलिफोनमा कुरा गरेको बताइन्।

उनको भनाइमा दुवै पक्षले वार्ताले आउने दिनहरुमा अघि बढ्ने बाटोबारे कार्ययोजना बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

आइतबार इजरेली मन्त्रिपरिषदले १०० भन्दा बढी प्यालेस्टिनी युध्दबन्दीलाई मुक्त गर्ने निर्णय गरेको थियो।

इजरेली मन्त्रिपरिषद प्यालेस्टीनीहरुसंग सम्भाव्य शान्ति सम्झौता र सीमा छुट्याउनेबारे जनमत संग्रहको प्रस्ताव सहितको एक मस्यौदा कानून बनाउन सहमत भएको थियो।

‘कठीन निर्णय’

इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पछिल्लो निर्णय लिन आफूलाई “कठीन भएको तर त्यस्ले देशको हीत गर्ने” बताए।

“मलाइ के विश्वास छ भने यसपालि कूटनीतिक प्रयासहरु हाम्रो क्षेत्रको जटील अवस्था, र द्वन्द्व समाधान गर्नको निम्ती सहयोगी सावित हुनेछन्।”

वेस्ट ब्याङ्कमा रहेका इजरेली वस्तीहरु, जेरुसलेमको भविष्य र प्यालेस्टिनी शरणार्थीको अवस्था के हुने भन्नेबारे दुवै पक्षबीच गम्भीर मतभेदहरु छन्।

वासिङ‍टनस्थित बीबीसीकी केटी वाटसन् भन्छिन् केरीको अथक प्रयासपछि हासिल भएको प्रगतिलाई ठूलो महत्वका साथ हेरिएको छ।