‘जिम्बाब्वेको चुनाव भरपर्दो'

  • 1 अगस्ट 2013

अफ्रिकी संघको निर्वाचन पर्यवेक्षण समूहका प्रमुख ओलुसेगुन ओबासान्जोले जिम्बाब्वेमा बुधबार भएको चुनाव स्वतन्त्र, इमान्दारीपूर्ण र भरपर्दो भएको जनाएका छन्।

Image caption मतगणनाको नतीजा पांच दिनभित्र आउने अपेक्षा गरिएको छ

यद्यपि अफ्रिकी संघद्वारा जारी एक वक्तव्यमा भनिएको छ, मतदाता नामावली, थप बीस लाख भन्दा बढी मतपत्रहरुको छपाइ र कैयौं मतदान केन्द्रहरुबाट मतदाताहरुलाई फर्काइएको आदि गम्भीर समस्याहरु देखिएका थिए।

यसअघि जिम्बाब्वेको सबैभन्दा ठूलो निर्वाचन पर्यवेक्षण समूहले बुधबार सम्पन्न आम चुनाव विश्वसनीय नभएको जनाएको थियो।

अफ्रिकी संघको पर्यवेक्षण समूहले बुधबार सम्पन्न संसदीय तथा राष्ट्रपतीय चुनाव स्वतन्त्र, इमान्दार र भरपर्दो भएको जनायो।

पर्यवेक्षण समूहका प्रमुख ओलुसेगुन ओबासान्जोले भने, "केही घटनाहरु भएतापनि अब चुनावको नतीजा बदल्न सकिंदैन। "

तर देशभरि सातहजार निर्वाचन पर्यवेक्षकहरु खटाएको जिम्बाब्वे निर्वाचन सहयोग सन्जालले चुनाव विश्वसनीय नभएको जनाएको थियो।

संजालले शहरी इलाकाका झण्डै दश लाख मतदाताहरुलाई मतदान गर्न नदिईएको जनाएको छ।

अनियमितता

जिम्बाब्वे निर्वाचन सहयोग सन्जालका अध्यक्ष सोलोमन जवानाले भने, "यो चुनावमा गम्भीर अनियमितताहरु भएका छन्।"

राष्ट्रिय संसदकालागि भएको चुनावका प्रारम्भिक नतीजाहरुले राष्ट्रपति रबर्ट मुगाबेको जानु पिएफ दल अग्रस्थानमा रहेको देखाएका छन्।

जानु पिएफका एकजना प्रवक्ताले सातौं पटक राष्ट्रपति पदका लागि चुनाव लडिरहेका मुगाबेले कम्तीमा सत्तरी प्रतिशत मत पाउने दावी गरे।

यो चुनावमा राष्ट्रपति मुगाबे र उनका प्रधामन्त्री मोर्गन चाङ्गीराईले नेतृत्व गरेको एमडिसी बीच मुख्य प्रतिस्पर्द्धा भैरहेको छ।

चाङगिराइले चुनावमा व्यापक धांधली गरिएको आरोप लगाउंदै चुनावले वैधता गुमाएको बताएका छन्।

लगातार ३३ वर्षदेखि सत्तामा रहेका ८९ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले चुनाव हारेमा आफूले सत्ता छाड्ने बताएका छन्।

चुनावमा धाँधली गरिएको भन्ने विपक्षीहरुको आरोपलाई उनको पार्टीले अस्वीकार गरेको छ।

असहज गठबन्धन

सन् २००८ को राष्ट्रपतीय निर्वाचन पछि भड्किएको हिंसालाई साम्य पार्ने उद्देश्यले भएको सम्झौता अन्तर्गत सन् २००९ देखि जानु पीएफ र एमडीसी दुबै पार्टीले असहज खालको गठबन्धन सरकार चलाइरहेका थिए।

मुगाबे र चाङगिराइबाहेक अन्य तीनजना उम्मेदवारहरु पनि राष्ट्रपति पदकालागि प्रतिस्पर्द्धा गरिरहेका छन्।

राष्ट्रपतिको दावेदारले विजयी हुनका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्नेछ।

यदि कसैले पनि त्यति मत ल्याउन सकेन भने आउँदो सेप्टेम्बर ११ मा पुन: निर्वाचन गरिनेछ ।

गत मार्चमा जनमत संग्रहद्वारा पारित नयाँ संविधान अन्तर्गतको यो पहिलो निर्वाचन हो।