फैसलापछि बेर्लुस्कोनीद्वारा दु:ख व्यक्त

  • 2 अगस्ट 2013
बेर्लुस्कोनी र उनीसँग नाम जोडिएकी एक महिला
Image caption बेर्लुस्कोनीले आफू एकपछि अर्को असत्य आरोपहरुको शिकार भएको बताएका छन्

पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीले कर छलेको अभियोगमा यसअघि दिइएको जेल सजायलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरिदिएपछि त्यसप्रति आक्रोश व्यक्त गर्दै उनले एक भिडियो सन्देश सार्वजनिक गरेका छन्।

अदालतको निर्णयपछि आत्तिएका देखिने बेर्लुस्कोनीले आफू एकपछि अर्को असत्य आरोपहरुको शिकार भएको बताए।

तर ७६ वर्षिय बेर्लुस्कोनी पाको उमेरका कारण जेल जाने सम्भावना भने देखिंदैन।

उनलाई घरमै नजरबन्द राख्ने वा सामुदायिक सेवामा लगाइने संभावना छ।

तल्ला अदालतका निर्णय उल्ट्याउने सोचमा रहेका बेर्लुस्कोनीका वकिलले उनीविरुद्धको फैसलालाई अन्यायपूर्ण भनेका छन्।

बेर्लुस्कोनीले एक भावपूर्ण भिडियो सन्देश पठाउँदै फैसलाको आलोचना गरे।

‘पुरस्कार’

“मैले २० वर्षसम्म मेरो देशको लागि गरेको प्रतिवद्धता र सेवा वापत मलाई यस्तो आरोप र आधारहीन फैसला मेरो सार्वजनिक जीवनको अन्त्य तिर पुरस्कार स्वरुप दिइएको छ।”

“यसले मेरो व्यक्तिगत स्वतन्त्रता र राजनीतिक अधिकार म बाट खोसेको छ।”

फैसला सुनाउदै न्यायाधिशहरुले तल्लो अदालतलाई उनलाई सार्वजनिक पद धारण गर्न लगाइएको प्रतिवन्ध फुकुवा गर्नेबारे पुनर्विचार गर्न भनेका छन्।

विपक्षी दलका एक नेता बेप्तो ग्रिलोले फैसलाको स्वागत गरे।

बेर्लुस्कोनीले आफूविरुद्धका ५० वटा मुद्दाले आफूलाई न्यायिक झन्झट दिएको उनले बताए।

प्रतिक्रियाहरु

एक वक्तव्यमा प्रधानमन्त्री एनरिको लेट‍्टाले देशमा शान्त वातावरण कायम राख्न आग्रह गरे।

राष्ट्रपति जोर्ज्यो नापोलितानोले सबैलाई धैर्य गर्न आग्रह गरे।

बेर्लुस्कोनीको दलले उनी सत्तारुढ गठबन्धनमै रहने बताएको छ।

रोमस्थित बीबीसीका एलान् जन्सटन् भन्छन्, “इटलीका जनताहरु बेर्लुस्कोनी दशकौंदेखि अदालत धाइरहेको हेर्न अभ्यस्त थिए।”

“यो बेर्लुस्कोनीको विशिष्ट राजनीतिक जीवनको सम्भवत सबैभन्दा अँध्यारो क्षण हो।”