बर्डफ्लु संक्रमणपछि व्यवसायी संकटमा

  • 3 अगस्ट 2013
singhdurbar
Image caption सरकारले कुखुराजन्य उत्पादनको ओसारपोसारमा रोक लगाएको छ

कुखुरामा लाग्ने एक प्रकारको रुघा अर्थात बर्डफ्लु संक्रमणका कारण करोडौं रुपैयाँ बराबरको कुखुराजन्य व्यवसाय संकटमा परेको व्यवसायीहरुले बताएका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित मुलुकका विभिन्न भागमा बर्डफ्लु देखिएपछि मानिसमा संक्रमण सर्न सक्ने चिन्तामा सरकारले ती क्षेत्रका कुखुराहरु धमाधम नष्ट गर्नुका साथै कुखुराजन्य उत्पादनहरुको ओसारपसारमा रोक लगाएको थियो।

एकातिर कुखुरा नष्ट हुंदाको घाटा छंदैछ, अर्कोतिर राहतको सन्तोषजनक व्यवस्था नहुंदा आफूहरु थप मर्कामा परेको र कतिपय त पेशाबाट पलायनको अवस्थामा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन्।

ठूलो व्यवसाय

यकीन आंकडा नभएपनि दैनिक नेपालमा करोडौं रुपैयाँ बराबरको कुखुराजन्य उत्पादनको विक्रीवितरण हुने गरेको सरकारी अधिकारीहरु बताउँछन्।

त्यसमध्ये करिब एक करोड रुपैयाँ बराबरका १५ लाख गोटा अण्डा मात्रै उत्पादन हुन्छन्।

अझ बजारको माग धान्न नसकेर भारतसहितका मुलुकबाट भित्र्याउने गरिएको पनि व्यवसायीहरु बताउँछन्।

तर गत सातायता मुलुकका विभिन्न भेगमा कुखुरा फार्महरुमा बर्डफ्लु संक्रमण भेटिएपछि, यति ठूलो आकारको व्यवसायमाथि कालो बादल मडारिएको छ।

त्यो संकट हटाउन अपनाउनुपर्ने उपायबारे नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी भन्छन्, “व्यवसायी र कृषकहरुलाई दिने गरिएको क्षतिपूर्ति व्यवहारिक बनाउनु जरुरी छ। त्यसैगरी बर्डफ्लुको जोखिम उच्च भएको भारतबाट चोरीनिकासी भइ भित्रिने कुखुराजन्य उत्पादनमाथि नियन्त्रण गर्नुपर्छ।”

‘अव्यवहारिक राहत’

राहतका लागि सरकारले दिने रकम न्यूनतम उत्पादन खर्च पनि नधान्ने खालको भएको व्यवसायी र कृषकहरुको गुनासो छ।

सरकारले बर्डफ्लुका कारण नष्ट गर्नुपरेका माउ ब्रोइलर र अण्डा दिने लेयरका लागि क्षतिपूर्ति स्वरुप २ सय देखि लिएर ५ सय रुपैयाँ र अन्यको हकमा १३० रुपैयाँ दिने गरेको अधिकारीहरुले बताए।

प्राथमिकता

बर्डफ्लुका कारण कृषक र व्यवसायीहरु समस्यामा परेपनि रोग नियन्त्रण प्राथमिक विषय भएको अधिकारीहरु बताउँछन्।

कृषि मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले भने, “व्यवसायी र कृषकहरु समस्यामा परेपनि अहिले सबैको प्रमुख दायित्व भनेको रोग नियन्त्रण नै हो।”

सरकारले रोग नियन्त्रणका लागि पर्याप्त कदम चाल्नु जरुरी छंदैछ, कुखुराजन्य व्यवसाय संकटमा पर्न नदिन बेलैमा सावधानी अपनाउनु पनि जरुरी रहेको सरोकारवालाहरु बताउँछन्।