‘चुनावी सुरक्षा योजना अन्तिम चरणमा’

  • 4 अगस्ट 2013
मन्त्रिपरिषद सचिवालय
Image caption नेकपा माओवादीले चुनाव विथोल्ने चेतावनी दिइरहँदा सरकारले सुरक्षा योजनालाई अन्तिम रुप दिन लागेको हो

मन्त्रिपरिषदका अध्यक्षसँग छलफलका निम्ति पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुलाई गृहमन्त्री माधव घिमिरेले सुरक्षा चुनौतीको सामना गर्ने सरकारी योजनाबारे प्रारम्भिक जानकारी गराएका छन्।

केही दिन भित्रै चुनाव केन्द्रित सुरक्षा योजनाबारे सरकारले निर्वाचन आयोगसँग विस्तृत छलफल गर्ने सरकारी तयारी रहेको छ।

नेकपा माओवादीले चुनाव विथोल्ने दस्ताहरु निर्माण गर्ने कार्यक्रम सहित बहिष्कार आन्दोलन घोषणा गरेपछि म‌ङसिर ४ गतेका निम्ति तोकिएको चुनावमा सुरक्षा चुनौतीबारे विभिन्न आशंका प्रकट हुन थालेका छन्।

योजना

आइतबारको छलफलमा गृहमन्त्री माधव घिमिरेले चुनावि वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको भन्दै चुनावी सुरक्षा योजनालाई छिट्टै अन्तिम रुप दिन लागिएको बताएका थिए।

छलफलमा सरकारी पक्षको भनाई उदृत गर्दै निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भने, “अहिले शान्ति सुरक्षा योजनालाई सरकारले अन्तिम रुप दिइरहेको र यसबारे छिट्टै आयोगको सुझाव लिने गृहमन्त्रीले बताउनुभयो।”

अघिल्लो हप्ता नेपाली सेनाबाहेक तीन सुरक्षा निकायसँग चुनावी सुरक्षा चुनौतीबारे लामो छलफल गरेका गृहमन्त्रीले असन्तुष्ट दलहरुसँगको वार्ता र चुनावी वातावरण निर्माणमा प्रगति भैरहेको छलफलका क्रममा बताएका थिए।

निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको आयोगले चुनाव गराउन प्राविधिक र नीतिगत काम अन्तिम चरणमा पु-याएको जानकारी सरकारलाई गराएको थियो।

रणनीति

आइतबारको बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकार र सत्तारुढ दलहरुले समानुपातिक चुनाव प्रणाली अन्तर्गत सिट संख्या बढाएरै भए पनि उपेन्द्र यादव र अशोक राई नेतृत्वका पार्टीहरुलाई यसै हप्ता भित्र सहमतिमा ल्याउने गरी प्रयास तीव्र पारेका छन्।

त्यसो गर्न सकिए बैद्य नेतृत्वको माओवादी एक्लिने र थप दबाबमा पर्ने सरकारको विश्वास पाइन्छ।

सरकार विघटन, चुनाव स्थगनको माग गरिरहेको नेकपा माओवादी वार्तामा बस्न तयार रहेपनि चुनावमा आउने सम्भावना न्यून रहेको सरकार र सत्तारुढ दलका नेताहरुले अनौपचारिकरुपमा बताउन थालेका छन्।

तर सरकारका प्रवक्ता एवं सन्चार मन्त्री माधव पौडेलले नेकपा माओवादीले सरकारसँगको अनौपचारिक छलफलमा संविधानसभा चुनाव हुन नहुने नबताएको भन्दै उक्त दल चुनावमा सहभागी हुनेमा आशा दर्शाए।

सरकारलाई समर्थन गरिरहेका दलहरुले बैद्य नेतृत्वको माओवादी नआए पनि चुनाव गराइ छाड्ने अडान पछिल्ला समयमा व्यक्त गरेका छन्।

तर कतिपयले सत्तारुढ दलहरुबीचकै मतभेदले जुनसुकै बेला विवादको रुप लिने र त्यसले चुनावलाई प्रभावित पार्ने अड्कल गर्ने गरेका छन्।