समानुपातिकको सीट बढाउन छलफल गर्न एमाले तयार

  • 4 अगस्ट 2013
चार पक्षका नेताहरु
Image caption सीट संख्या बढाउनेबारे चार पक्षसम्मिलित समितिमा छलफल हुने बताइएको छ

नेकपा एमालेका एकजना नेताले असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन समानुपातिक तर्फ निर्वाचित हुनेको संख्या बढाउने विषयमा छलफल गर्न आफुहरु तयार भएको बताएका छन्।

चार प्रमुख राजनीतिक शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक समितिभित्रका तीन पक्षहरु समानुपातिक तर्फको सीट संख्या बढाउन लगभग तयार भएपछि यसबारे आफुहरुले पनि निर्णय गर्ने एमालेका एक नेताले बताएका छन्।

छलफल जारी

समानुपातिक तर्फ ५८ र प्रत्यक्ष तर्फ ४२ प्रतिशत सीट हुनुपर्ने माग राख्दै आएका आन्दोलनरत असन्तुष्ट दलहरुको मागलाई सम्बोधन गर्न आईतबार पनि नेताहरु छलफलमा बस्ने भएका छन्।

यसका लागि चार दल र असन्तुष्ट दलका नेताहरु बिच अनौपचारिक भेटघाटहरु जारी रहने एमाले नेता रघुजी पन्तले बताए।

खासगरी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम नेपाल तथा अशोक राई नेतृत्वको संघीय समाजवादी दलले आफ्नो माग सम्बोधन भए आगामी मंसिर चार गते हुने भनिएको निर्वाचनमा सामेल हुने संकेत दिएपछि उच्चस्तरीय राजनीतिक समितिले यसबारे धारणा तय गर्न लागेको छ।

फरक मत

समानुपातिक तर्फको सीट संख्या बढाउनको लागि एकीकृत नेकपा माओवादी प्रचण्डले सकारात्मक धारणा राखिसकेका छन्।

उच्चस्तरीय राजनीतिक समितिको एक घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि समानुपातिकको प्रतिशत बढाउनु पर्ने माग राख्न थालेको छ।

यसअघि सिट बढाउने विषयमा चर्को विरोध गर्दै आएको नेकपा एमालेले पनि पार्टीभित्र छलफल गरी पुन: विचार गर्ने मनस्थितिमा पुगेको एमाले नेता रघुजी पन्तले बताए।

उनी भन्छन्, “कांग्रेस मौन बस्न थालेको छ। संयुक्त मधेसी मोर्चा र प्रचण्डजीले नेतृत्व गर्नुभएको पार्टीको समानुपातिकको सीट बढाउनुपर्छ भन्ने अभिव्यक्ति छ। तीन दल एकातिर भएपछि एमालेले पनि आफ्नो अडानमाथि पार्टिभित्र छलफल गर्छ।”

यसअघि प्रमुख दलहरुले समानुपातिक र प्रत्यक्ष तर्फ ५०/५० प्रतिशत सिट कायम गर्ने सहमति गरीसकेका थिए।

तर यसबाट जनजाति, दलित, मधेसी, महिला लगायतको न्यायोचित प्रतिनिधित्व हुन नसक्ने भन्दै कतिपय दलहरुले चुनावमा भाग नलिने धम्की दिएपछि प्रमुख दलहरु वार्ताबाट समस्या समाधान गर्न तम्सिएका हुन।