‘वैद्य माओवादीसंग वार्ता फलदायी हुने सम्भावना कमजोर’

  • 5 अगस्ट 2013
मोहन वैद्य
Image caption वैद्य माओवादीले वार्तामा बस्न सकिने बताएपनि आफ्ना अडानहरु कायमै राखेको बताएको छ

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले वर्तमान सरकार परिवर्तन र चुनावको मितिसार्नेबारेका माग नत्यागे ऊ सँगको वार्ता फलदायी हुने कमै सम्भावना रहेको सरकार पक्षीय दलहरुले बताएका छन्।

सरकार र उच्चस्तरीय राजनीतिक समितिले निशर्त वार्ताको निम्तो दिएपछि नेकपा माओवादी वार्तामा बस्न तयार देखिएका बेला उनीहरुको त्यस्तो प्रतिकृया आएको छ।

आशंका

नेकपा माओवादीले माग गरे अनुरुपकै भाषामा सरकारले पत्र पठाएपछि अब वार्ता हुने सम्भावना बढेको देखिन्छ।

तर वार्ताको टेबुलमा वैद्य माओवादीले राख्ने सर्त र माग, सरकार र उच्च समितिको योजनालाई रोक्ने खालका हुने प्रष्ट छ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल भन्छन्, “सरकार परिवर्तन गरेर मंसीर चार गतेको निर्वाचन सम्पन्न गर्न सकिंदैन। निर्वाचन सार्नु हुँदैन भन्ने हाम्रो विश्वास छ। त्यसैले मंसीर चार गतेको निर्वाचनको तयारीको लागि उहाँहरुसँग वार्ता गरीरहेका छौं।”

वार्ताअघि नै निस्कर्ष निकाल्नु अपरिपक्व हुने भएता पनि नेकपा एमालेले समेत वार्ता सहमतिमा पुग्ने सम्भावना कमजोर नै रहेको बताएको छ।

उक्त दलका एकजना नेता रघुजी पन्त भन्छन्, “उहाँहरुका माग र चार दलका सीमाका विचमा हामीले समाधान खोज्ने हो। उहाँहरुले जे जे भन्नुहुन्छ त्यो सबै मानेर जान पनि सकिन्न। मंसिरको चुनाव प्रभावित नहोस् भन्ने चार दलको उदेश्य हो।”

अविश्वास

नेकपा माओवादीले वार्ता गर्ने भने पनि आन्दोलनका कार्यक्रम पनि चलाई रहेको छ।

सरकारले पनि वार्तासँगै चुनावको तयारीलाई तीव्र बनाएको छ।

दुई विपरीत ध्रुवमा उभिएर आ–आफ्नो गतिविधिमा प्रखर रुपमा लागिरहेको यो अवस्थालाई दुई पक्षबीचको गम्भीर अविश्वासको रुपमा हेरिएको छ।