'३३ दल र उच्चस्तरीय समितिबीच मंगलवार वार्ता हुने'

  • 6 अगस्ट 2013
Image caption नेकपा माओवादी र उसले नेतृत्व गरेको मोर्चा पहिलो पटक सत्तापक्षीय दलहरुसँग वार्तामा बस्न लागेको हो

मुख्य दलहरु सम्मिलित उच्चस्तरिय राजनीतिक समिति र चुनाव वहिस्कारको निम्ति आन्दोलन गरिरहेको नेकपा-माओवादीले नेतृत्व गरेको मोर्चाकाबीच मंगलवार पहिलो औपचारीक वार्ता हुने भएको छ।

सरकार पक्षीय दलहरुका अनुसार उनीहरुले समितिको तर्फबाट असन्तुष्ट माओवादीकै माग अनुरुपको निम्तो पठाएपछि वार्ताको अवसर जुट्न लागेको हो।

चुनावमा भाग लिन सकारात्मक देखिएका भनिएको मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी दलसँग पनि मंगलबार नै समितिले वार्ता गर्दैछ।

मसीर ४ का निम्ति तोकिएको चुनावको पक्ष-विपक्षमा उभिएका दुइ पक्षहरु महिनौंको विवादपछि वार्तामा बस्न लागेका हुन्।

तयारी

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड संयोजक रहेको समितिले चुनाव वहिस्कार गर्ने निर्णय गरेको बैद्य नेतृत्वको माओवादीसँग वार्तामा बस्नु अघि उसले चुनावमा भाग लिने ठम्याएका उपेन्द्र यादव र अशोक राईले नेतृत्व गरेका दलहरुसँग कुराकानी गर्नेछ।

यादव र राई पक्षसँग विगतमा पनि वार्ता भएकाले ठोस प्रगति हुन सक्ने एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने,“पहिलेपनि कुरा सुनिसकेकाले उपेन्द्र यादव र अशोक राईसँग लगभग अन्तिम चरणको कुराकानी हुन्छ तर मोहन बैद्यसँग पहिलो औपचारिक वार्ता हुन लागेकाले उहाँहरुको कुरा सुन्छौं।”

सरकार पक्षीय दलहरु समानुपातिक प्रणाली अन्तर्गतको सीट संख्या बढाएर यादव र राईलाई एक हप्ता भित्र चुनावी प्रक्रियामा ल्याउन सकिनेमा आशावादी छन्।

नेकपा-माओवादी नेतृत्वको ३३ दलीय भनिएको मोर्चाले राख्ने गरेको सरकार विघटन र मंसीर ४ को चुनाव स्थगनको माग पुरा गर्न नसकिने सत्ता पक्षीय दलहरुको भनाई छ।

अडिग

तर वार्ता गर्न तयार भएपनि समय निश्चित नभैसकेको उल्लेख गर्दै नेकपा-माओवादीका सचिव देव गुरुङले उनको दल र मोर्चाले सडकमा उठाइराखेका माग टेबुलमा प्रस्तुत गर्ने जनाए।

“अहिलेसम्म आन्दोलनमा उठाउँदै आएका माग नै हामी वार्तामा प्रस्तुत गर्छौ। वार्ताको तयारीका क्रममा मोर्चा भित्र छलफल गरेर हामीले यस्तो निष्कर्ष निकालेका हौं,” गुरुङले भने।

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति सुशील कोइराला र अमेरिका भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको अनुपस्थितिमा मंगलबारको वार्ता हुन लागेको हो।

त्यसले वार्तामा असर नपर्ने एकीकृत माओवादीका नेता श्रेष्ठको भनाई थियो।

प्राविधिक तयारी निर्वाचन आयोगले तीव्र पार्दा पनि चुनावका लागि राजनीतिक अवरोधहरु कायम रहँदा सत्तापक्षीय र आन्दोलनरत दलहरु वार्तामा बस्न लागेका हुन्।

तर आ-आफ्ना अडानमा दुबै पक्ष दृढ देखिएकाले चुनावप्रतिको अनिश्चय तत्काल नहट्ने कतिपयको विश्लेषण पाइन्छ।