नेकपा-माओवादी चुनावमा आउने सम्भावना न्यून: प्रचण्ड

  • 6 अगस्ट 2013
उच्चस्तरीय राजनीतिक समिति
Image caption सरकारलाई समर्थन गरिरहेका दलहरु उपेन्द्र यादवले नेतृत्व गरिरहेको मोर्चालाई चुनावमा ल्याउन सकिने सम्भावना बढेको बताउँछन्

उच्चस्तरीय राजनीतिक समितिका संयोजक रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मोहन वैद्य नेतृत्वको माओवादी चुनावमा आउने सम्भावना निकै न्यून रहेको बताएका छन्।

नेकपा-माओवादीले नेतृत्व गरेको ३३ दलीय भनिएको मोर्चासँगको औपचारिक वार्तापछि पोखरा पुगेका प्रचण्डले मंसीर चारमा चुनाव सुनिश्चित हुने गरी मात्र असन्तुष्ट समूहका माग पुरा गरिने प्रष्ट्याए।

सरकारपक्षीय दलहरुको संयन्त्रसँगको औपचारिक वार्तामा मंसिर चारको चुनाव स्थगन सहित १८ बुदेँ माग नेकपा-माओवादीले नेतृत्व गरेको मोर्चाले मंगलबार प्रस्तुत गरेपछि प्रचण्डको पछिल्लो भनाइ आएको हो।

असन्तुष्ट दलहरुसँग निशर्त वार्ता गर्न तयार भएका सरकारलाई समर्थन गरिरहेका दलहरु बैद्य नेतृत्वको माओवादी चुनावमा सहभागी हुनेमा कम आशावादी देखिएका छन्।

वार्ता

उच्चस्तरीय राजनीतिक समितिले मंगलबार मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको आठदलीय मोर्चा र नेकपा-माओवादीले नेतृत्व गरिएको भनिएको ३३ दलिय मोर्चासँग छुट्टा छुट्टै वार्ता गरेका थिए।

चुनाव बहिष्कार आन्दोलन गरिरहेका माओवादीसम्बद्ध मोर्चाले सडकमा उठाँउदै आएका २५ बुँदे बाधाअडकाउ फुकाउ आदेश खारेजी र चुनाव स्थगन लगायतका माग वार्तामा राखेको थियो।

“अहिलेको निर्वाचनमा नेकपा-माओवादी सजिलै आउँछ भन्ने मलाई लाग्दैन्, निर्वाचन विथोल्ने वा रोक्ने गरी कुनै पनि माग पूरा गर्न हामी सक्दैनौं।”

मंगलवारको वार्तमा उपेन्द्र यादवले नेतृत्व गरेको आठदलीय मोर्चाले मंसीर चारको चुनावमा सहभागी हुन छ बुँदे शर्त राखेको थियो।

सत्ता समर्थक दलका नेताहरु यादवलाई चुनावमा ल्याउन सकिनेमा बढी आशावादी छन्।

“उपेन्द्र यादवको मोर्चाका जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिक्ता वितरण लगायत कतिपय माग पूरा भैसकेका छन्। वहाँहरु चुनावमा आउनुहुन्छ।”

यादव नेतृत्वको मोर्चाले चार दलीय समिति खारेजी, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रधानन्याधीश पदबाट राजिनामा, विधानसभामा समानुपातिक सिट संख्यालाई विगतको जस्तै ५८ प्रतिशत पुर्याउनुपर्ने सहितका माग वार्तामा राखेका छ।

तयारी

राजनीतिक समिति विस्तार गर्न तयार रहेको बताउँदै आएका सरकार समर्थक दलहरुले यादव सहित सरकारसँग वार्तामा रहेको अशोक राईको दललाई समेट्न समानुपातिक प्रणालीको सिट संख्या बढाउने तयारी गरेका छन्।

नेपाली काग्रेसका नेता रामशरण महतले एक हप्ताभित्र असन्तुष्ट दलहरुसँगको वार्ता टुङ्ग्याउने र उनीहरुको माग कसरी सम्बोधन गर्ने भन्नेबारे समितिसम्बद्ध दलहरुले साझा धारणा बनाउने बताए।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष यादवले मंसीर चारको चुनाव सरकारलाई समर्थन गरिरहेका दलहरुको निर्णयमा भर पर्ने बताए।

असन्तुष्ट दलका मागबारे राजनीतिक समिति भित्रैका दलहरुबीच विवाद रहेकाले वार्ता प्रकियाले तत्काल नतिजा निकाल्नेमा कतिपयले शंका व्यक्त गरेका छन्।