असन्तुष्टका मागबारे मुख्य दलले साझा धारणा बनाउँदै

  • 7 अगस्ट 2013
baidya
Image caption मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले चुनावी प्रक्रिया स्थगनको माग गर्दै आएको छ

लामो कसरतपछि वार्तामा बसेका असन्तुष्ट दलहरुले राखेका मागबारे उच्चस्तरीय राजनीतिक समितिले बुधवार धारणा बनाउने नेताहरुले बताएका छन्।

बैठकले ती माग सम्बोधन गर्न लचिलो हुन सकिने हद निर्धारण गर्ने अपेक्षा गरिएको छ।

मोहन वैद्य नेत्तृत्वको नेकपा माओवादीसहितका असन्तुष्ट दलहरुले मंगलवार समितिसंग छुट्टाछुट्टै भएका वार्तामा चुनावी प्रक्रिया स्थगन, गोलमेच सम्मेलन, समानुपातिकको सिट संख्या वृद्धि लगायतका माग राखेका थिए।

दबाब

चुनावको मिति नजिकिंदै जाँदा उच्चस्तरीय राजनीतिक समितिसम्वद्ध दलहरु असन्तुष्ट पक्षको मागबारे छिटो टुंगोमा पुग्नुपर्ने दबाबमा छन्।

तर यो सातासम्म मात्रै वार्ता गर्ने बताएका सरकारपक्षीय दलहरुसमक्ष असन्तुष्टहरुको सर्तैसर्तको ओइरो छ।

बुधवार बस्ने उक्त समितिको बैठकले असन्तुष्ट पक्षका मागसम्बन्धमा कतिसम्म लचिलो हुन सकिन्छ भन्नेबारे साझा धारणा तय गर्ने एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताए।

चुनौती

मोहन वैद्य नेत्तृत्वको मोर्चा सरकार परिवर्तन, चुनाव स्थगन लगायतका मागहरुमा अडिग छ भने उपेन्द्र यादव नेतृत्वको मोर्चा चारदलीय समितिको खारेजी, समानुपातिकको प्रतिशत बढाउनु पर्ने लगायतका माग राखेको छ।

वैद्य र यादव पक्षका कतिपय मागहरु एकआपसमा बाझिने खालका छन्।

यस्तो पृष्ठभूमिमा असन्तुष्ट पक्षका मागकाबीच समाधान खोज्नु चुनौतीपूर्ण हुने एमाले नेता अग्नि खरेल ठान्छन्।

उनी भन्छन्, “एउटाको माग पूरा गर्दा अर्कोको माग पूरा नहुने स्थिति छ। कसैको माग पूरा गर्दा पूरै प्रक्रिया नै अवरुद्ध हुने स्थिति छ। त्यसैले बीचको समाधान निकाल्नु जरुरी छ।”

यद्यपि परस्पर विरोधी मागहरुबीचबाट धेरैभन्दा धेरैको चित्त बुझ्ने गरी मिलन विन्दु खोज्न जटिल हुने कतिपयको बुझाइ छ।