केन्यामा भीषण आगलागी

  • 7 अगस्ट 2013
दमकलहरु
Image caption आपत्कालिन सेवाहरुले ढीलो प्रतिकृया जनाएको भनि आलोचना गरिएको छ

केन्यामा लागेको भीषण आगोले गर्दा मुख्य अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिंदा त्यसक्षेत्रकै वायुसेवाहरु प्रभावित हुन पुगेका छन्।

पूर्वी अफ्रिकाकै सबैभन्दा व्यस्त, राजधानी नैरोबीस्थिन जोमो केन्याटा विमानस्थलमा भएको आगलागीले सैयौं यात्रुहरु अलपत्र परेका थिए।

कैयौं उडानहरुलाई तटवर्ती शहर मोम्बासातर्फ पठाईएको थियो।

आगलागीको कारण थाहा हुनसकेको छैन र कोही हताहति भएको खबर पनि छैन।

उक्त विमानस्थल पूर्वी अफ्रिकाको भ्रमण गर्ने युरोपेलीहरुकालागि मुख्य प्रवेशद्वार मानिन्छ।

महत्वपूर्ण

केन्याको फूल निर्यात उद्योगकाला‌गि पनि सो विमानस्थल महत्वपूर्ण छ।

आगलागी अहिले नियन्त्रणमा ल्याइसकिएको बताइएको छ तर आगो निभाउन केन्याका आपत्कालिन सेवाहरुले गरेको ढिलाइको आलोचना भैरहेको छ।

एएफपि समाचार संस्थासंग कुरा गर्दै एकजना स्थानीय वासिन्दा बैरी फिशरले भने, "विमानस्थलमा आगो लागीरहेका भएतापनि त्यसतर्फ गैरहेका यातायात साधनहरुलाई रोक्ने कोही पनि थिएन। दमकलहरुलाई विमानस्थलसंम पुग्न हम्मेहम्मे परेको थियो।"

आगलागीको बेला विमानस्थलमै रहेकी एक अमेरिकी छात्रा एमिल मोसितेसले भनिन्, "हामीहरुलाई बाहिर निस्कन बाटो देखाउने त्यहां कोही पनि थिएन। म धेरैबेर उभिएर आगो लागेको हेरिरहें।"

गृहमन्त्री जोसेफ ओले लेन्कुले आगोले आगमन कक्ष लगायत कैयौं भवनहरु नष्ट गरीदिएको जनाए।

निरीक्षण

राष्ट्रपति उहुरु केन्याटाले क्षतिग्रस्त भवनहरुको निरीक्षण गरेका छन्।

संवाददाताहरु भन्छन्, केन्याली अधिकारीहरु जतिसक्दो चांडो फेरि विमानस्थललाई चालु गरियोस् भन्ने चाहन्छन्।

विमानस्थल व्यवस्थापन समितिले संभाव्य विकल्पहरुबारे छलफल गरिरहेको छ।