हमलाको त्रास: यमनमा उच्च सतर्कता

  • 7 अगस्ट 2013
सनास्थित अमेरिकी दूतावास
Image caption सम्भावित जवाफी कारवाहीका लागि अमेरिकी विशेष सुरक्षा दस्ता पठाउने तयारी भइरहेको बताइएको छ

यमनमा अल कायदासंग जोडिएको समुहद्वारा आक्रमण हुनसक्ने चिन्ताका माझ राजधानी सनास्थित विदेशी नियोग, सरकारी कार्यालय र विमानस्थल सेनाका ट्याङ्क र टुकडीहरुले घेरिएका छन्।

विभिन्न देशमा रहेका आफ्ना २० वटा दूतावास बन्द गरेको अमेरिका र आफ्ना कुटनीतिक नियोगका कर्मचारीलाई फिर्ता बोलाएको ब्रिटेन दुवैले आफ्ना नागरिकहरुलाई यस अघि नै यमन छाड्न आह्वान गरिसकेका छन्।

यमन सरकारका एक प्रवक्ताले अमेरिका र उसका साझेदार देशहरुको यो निर्णयको आलोचना गर्दै यसले अतिवादिहरुकै चाहना पुरा गरेको बताए।

“हामीले यमनमा रहेका विदेशी दूतावासहरुको सुरक्षाको निम्ति सबै व्यवस्था मिलाएका छौं।”

“तर दूतावासका कर्मचारी फिर्ता बोलाउने कदमले अतिवादीहरुलाई सहयोग पुर्‍याउन सक्छ।”

सम्भाव्य हमलाबारे अल कायदाका एक मुख्य नेता आएमन् अल-जवाहिरी र अर्का एक वरिष्ठ व्यक्ति बीचको गोप्य कुराकानी थाहा पाइएपछि दुतावासहरु बन्द गरिएको हो।

विशेष दस्ता

बीबीसीका अब्दुल्लाह घोराबका अनुसार राजधानी सनामा पहिले कहिल्यै नदेखिएको सुरक्षा सावधानी अपनाइएको छ, सडकमा सयौं बख्तरबन्द गाडी र ट्यांकहरु देखिएका छन्।

एक सुरक्षा स्रोतलाई उद्यृत गर्दै घोराबले केही दिन यता दर्जनौं अल कायदा सदस्य सनामा जम्मा भएका सूचना यमनी गुप्तचर संस्थाले पाएको बताए।

सनामा पश्चिमा कूटनीतिक नियोग र यमनी सेनाको मुख्यालयलाई लक्षित गरि आत्मघाती हमला र विस्फोटन हुन सक्नेतर्फ स्रोतहरुले संकेत गरेका छन्।

चुलिंदै गएको तनावका बीच अमेरिकाले सनामा अलकायदा विरुद्ब सम्भावित जवाफी कारवाहीका लागि विशेष सुरक्षा दस्ता पठाउने तयारी गरिरहेको पनि स्रोतहरुले बीबीसी न्युज नाईटलाई बताएका थिए।

‘गोप्य योजना’

ह्वाईट हाउस र अमेरिकी विदेश मन्त्रालय दुवैले अहिलेको खतरा अरबस्थित अल कायदाको समूहबाट भएको बताए पनि त्यसको विस्तृत जानकारी दिइएको छैन।

न्यूयोर्क टाईम्सका अनुसार अमेरिकाले अल कायदाका प्रमुख अल-जवाहिरी र यमनस्थित अल कायदाका मुख्य नेता नासेर अल-वुहायशीविचको गोप्य कुराकानी थाहा पाएको थियो।

सो पत्रिकामा उल्लेख गरिएअनुसार उनीहरुको कुराकानीबाट सन् २००१ सेटेम्बरमा ११ मा अमेरिकामा गरिएको हमला पछिको यो सबैभन्दा गम्भीर योजना भए जस्तो बुझिन्थ्यो।

यमनी अधिकारीहरुले एपी समाचार संस्थालाई बताए अनुसार अहिले हुनसक्ने हमलाको उद्देश्य गत नोभेम्बरमा गरिएको ड्रोन आक्रमणमा घाइते भइ मारिएका अल कायदा नेता सईद अल-शिहरीको हत्याको बदला लिनु हो।