बर्मामा जनविद्रोहको संझना

  • 8 अगस्ट 2013
आङ सान सु ची
Image caption सन् १९८८ को विद्रोह पछि सू ची नेतृको रुपमा अगाडि आएकी थिइन्

बर्मामा प्रजातन्त्र बहालीका लागि जनविद्रोह शुरु भएको पच्चीस वर्ष पुगेको अवसरमा विभिन्न समारोहहरु आयोजना गरिएका छन्।

रङगुन शहरमा आयोजित एक समारोहमा विपक्षी नेतृ आङ सान सु चीले ती विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरुको स्मरण गरिन्।

तत्कालिन सरकारले उक्त विद्रोहको नृशंसतापूर्वक दमन गर्दा हजारौंको ज्यान गएको थियो।

बर्मामा जनविद्रोहको संझनामा खुल्लारुपमा कार्यक्रमहरु गरिएको यो पहिलो अवसर हो।

अगष्ट ८, १९८८ का दिन लाखौं मानिसहरुले विरोध प्रदर्शनहरुमा भाग लिएका थिए।

दमन

६ सातासम्म चलेका ति विरोधको सेनाले नृशंसतापूर्वक दमन गरेको थियो। ती विद्रोहमा सहभागीहरुमध्ये कम्तीमा तीन हजार प्रदर्शनकारीहरुको हत्या गरियो, हजारौं अन्यलाई जेल हालियो।

ती विराधका क्रममा आङ सान सु ची बर्माको प्रजातन्त्रवादी आन्दोलनको नेतृको रुपमा अगाडि आएकी थिइन्।

रंगुनको एउटा सम्मेलन केन्द्रमा आयोजित एक स्मृति सभामा राजनीतिक नेताहरु सहित हजारौं मानिसहरु भेला भएका थिए।

सभालाई संबोधन गर्दै सूचीले विगतको तीतोपनलाई बिर्सन र राष्ट्रिय मेलमिलापको बाटोमा अघि बढन आह्वान गरिन्।

बिहीबार प्रजातान्त्रिक आन्दोलनमा भाग लिएको एउटा सानो समूहले रंगुनका सडकहरुमा अगाडि बढदै मृतकहरुको संझनामा माल्यार्पण गरेको थियो। फोटो प्रदर्शनी तथा सडक नाटकहरु पनि गरिएका थिए।

पच्चीस वर्ष अघिको जनविद्रोहका एकजना सहभागी विन मिनले भने, “प्रजातन्त्रकालागि भएको आन्दोलनमा सुले पगोडा र बार स्ट्रीटमा कैयौं विद्यार्थी तथा मानिसहरु मारिएका थिए। हामी आज उनीहरुको संझनामा शोक मनाउन चाहन्छौं र उनीहरुलाई देखाउन चाहन्छौं कि हामी प्रजातन्त्रको लक्ष्यमा अगाडि बढीरहेका छौं।”

वर्तमान सरकारमा रहेका केही भूतपूर्व जनरलहरुमाथि पनि सन् १९८८ मा भएको हिंसाकालागि दोषी भएको आरोप लाग्ने गरेको छ।

तर बर्माको सुधारवादी सरकारले यी समारोहहरु मनाउन मौन समर्थन दिएको थियो।

सत्ता

नोभेम्बर २०१० मा भएको आमचुनाव पछि बर्मामा नाममात्रको गैरसैनिक सरकारले सत्ता संहालेको थियो।

राष्ट्रपति थिन सेनले नेतृत्व गरेको उक्त सरकारले त्यसयता राजनीतिक तथा आर्थिक सुधारका कैयौं कदमहरु चालिसकेको छ।

कैयौं राजनीतिक बन्दीहरुलाई रिहा गरिएको छ र सन्चारमाध्यमहरुमाथि लगाईएको सेन्सरसीप हटाइएको छ।

त्यसको बदलामा अन्तर्राष्ट्रिय समुदायले बर्मामाथि लगाइएको नाकाबन्दी हटाइएको थियो।

ब्रिटेनको विदेश मन्त्रालयका एकजना मन्त्री ह्युगो स्वायरले भने, “यो वार्षिकी सन् १९८८ मा बर्मामा वृहत्तर प्रजातन्त्रकालागि ज्यान गुमाउनेहरु तथा कैयौ वर्ष जेल जीवन बिताउनेहरुको को संझना गर्ने एक अवसर पनि हो।”