कुखुरा ओसारपसारमा लगाइएको प्रतिवन्ध खुल्ला

  • 8 अगस्ट 2013
कुखुरा
Image caption केही सातायता नेपालमा करिव एक लाख पचासी हजार कुखुरा नष्ट गरिएको अधिकारीहरुको भनाइ छ

चरामा लाग्ने रुघा जस्तो एक प्रकारको रोग बर्ड फ्लूको संक्रमण निमिट्यान्न नहुदै सरकारले केहि दिनअघि कुखुराको ओसारपसारमा लगाएको प्रतिवन्ध एक साताको लागि खुल्ला गरिदिएको छ।

काठमाण्डू उपत्यकाका कैयौ कुखुरा फार्महरुमा बुधबारसम्म बर्ड फ्लूको संक्रमण भेटिएका विवरणहरु बाहिर आएका थिए।

पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डक्टर नारायण घिमिरेका अनुसार कुखुरा व्यवसायी र सरकारी अधिकारीहरुबीचको छलफलपछि प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरिएको हो।

“रोग नियन्त्रणको कार्य प्रभावकारी बनाउन र उपभोक्ताहरुलाई स्वस्थ कुखुरा उपलब्ध गराउन सात दिनको लागि प्रतिवन्ध खुल्ला गरिएको हो।”

‘संक्रमणमा कमी’

स्वास्थ्य मन्त्रालयको एपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डक्टर जीडी ठाकुरले अवस्थामा केही सुधार आएको पाइएको बताए।

“विज्ञहरुको छलफलमा भाइरसको लोड कम भइसकेकोले प्रतिवन्धलाई कायम राखिराख्नु नपर्ने निश्कर्ष निस्कियो।”

तर कुखुरामा बर्ड फ्लूको महामारी नियन्त्रण नहुँदै व्यवसायीको दबाबमा कुखुरा विक्रि खुल्ला गरिएको भन्दै विभिन्न पक्षले चिन्ता व्यक्त गरेका विवरण सहितका समाचारहरु आएका छन्।

बर्ड फ्लू भेटिएका अरु देशहरुमा पनि एक साता भन्दा बढि कुखुराको ओसारपसारमा प्रतिवन्ध नलगाइएको अधिकारीहरुको भनाइ छ।

तर बर्ड फ्ल‍ू पूरै नियन्त्रण नभइसकेकोले उपभोक्ताले पर्याप्त सावधानी अपनाउनु पर्ने सुझाव डक्टर जीडी ठाकुरले दिए।

“हेलचक्याइँ गर्नु हुदैन, पर्याप्त सावधानी अपनाउनु पर्छ र कुखुरा फार्म सफा राख्नु पर्छ।”

‘विशेष ध्यान’

“कुखुरा फार्ममा काम गर्ने व्यक्तीले अझ विशेष ध्यान दिनु पर्छ।”

उनले कुनै मानिसलाई बर्ड फ्लू भएको शंका लागेमा नजिकैको स्वास्थ्य चौकी वा अस्पताल गएर चिकित्सकको सल्लाहमा टामी फ्लू भन्ने औषधी लिनु पर्ने बताए।

पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डक्टर घिमिरेका अनुसार कुखुरा फार्म, ओसारपसार विक्रि वितरणमा निगरानी कायमै रहनेछ।

नेपालमा अहिलेसम्म मानिसमा बर्ड फ्लू सरेको नभेटिएको डक्टर ठाकुरले बताए।

केहि सातादेखि नेपालमा कुखुरामा बर्ड फ्लूको महामारी देखिएपछि करिव पचास फार्महरुबाट झन्डै एक लाख पचासी हजार कुखुरा नष्ट गरिसकिएको अधिकारीहरुको भनाइ छ।