पाकिस्तानको क्वेटामा दोश्रो ठूलो हमला

  • 9 अगस्ट 2013
हमला पछिको दृश्य
Image caption इद उल फित्रको दिन उक्त हमला गरिएको थियो

दक्षिण पश्चिमी पाकिस्तानी शहर क्वेटामा उग्रवादीहरुले दोश्रो ठूलो हमला गरेका छन्।

अज्ञात बन्दूकधारीहरुले एउटा मस्जीद बाहिर हमला गर्दा कम्तीमा नौ जनाको ज्यान गयो भने अरु कैयौं घाइते भए।

हिजो क्वेटामै गरिएको आत्मघाती बम हमलामा कम्तीमा उनन्तीस जनाको ज्यान गएको थियो। क्वेटा, अफगानिस्तानसंग सीमा जोडिएको बलोचिस्तान प्रान्तको राजधानी पनि हो, जुन क्षेत्र लामो समयदेखि अशान्त रहंदै आएको छ।

मुसलमानहरुको प्रमुख चाड इद उल फित्रको अवसरमा सुन्नी मुसलमानहरु एउटा मस्जीदबाट प्रार्थना गरेर निस्कंदै गर्दा उक्त हमला गरिएको थियो।

बन्दूकधारीहरुले पाकिस्तान पिपुल्स पार्टीका एकजना भूतपूर्व प्रान्तीय मन्त्रीको मोटरमा हमला गरेका थिए, तर उनी बांच्न सफल भए।

हमला पछि बोल्दै अलि मदाद जातकले भने, “ती हमलाकारीहरु निर्दोष मानिसहरुको हत्या गरेपछि भागे। म उनीहरुको निशाना थिएं। उनीहरुले अलग समुदायका, निर्दोष, प्रार्थना गरिरहेका मानिसहरुको हत्या गरेका छन्। यो मानवता विरुद्ध छ। यो जनावरले गर्ने जस्तो नृशंसता हो।”

हमलामा कम्तीमा नौ जनाको ज्यान गयो भने अरु कैयौं घाइते भएका छन्।

रमादान

एक महिना लामो रमादान पछि प्रार्थना गर्न मानिसहरु मस्जीदमा भेला भएका बेला उक्त हमला ग‌रिएको थियो। एकजना प्रत्यक्षदर्श‌ी मोहम्मद अदनानले भने, "मानिसहरु बाहिर सिंढीमा निस्कंदा आतंककारीहरु त्यहां पुगीसकेका थिए। उनीहरुले मानिसहरुलाई निशाना लगाउन र गोली प्रहार गर्न शुरु गरे। मारिनेहरुमा दुईजना केटाकेटी छन् र झण्डै बीसजना घाइते भएका छन्।"

सो हमलाको कसैले जिम्मेवारी लिएको छैन।

राजधानी इस्लामावादस्थित एउटा मस्जीदमा प्रार्थना गर्न आएका अब्दुल रहमानले भने, “इद उल फित्र एउटा प्रेम, एकता र भाइचाराको दिन हो। मानिसहरु प्रेम फैलाउनका लागि एकजुट हुनुपर्छ र घृणा त्याग्नुपर्छ।”

बिहीबार क्वेटामै गरिएको एक बम हमलामा कम्तीमा उनन्तीस जनाको ज्यान गएको थियो।

त्यस्तै गत मंगलबार पृथकतावादी बलोच लिबरेशन आर्मीका बन्दूकधारीहरुले क्वेटा शहरबाट झण्डै सत्तरी किलोमिटर दक्षिणपूर्व एउटा बसमा यात्रा गरिरहेका तेह्रजनाको गोली हानी हत्या गरीदिएका थिए।

क्वेटा अफगानिस्तानसंग सीमा जोडिएको बलोचिस्तान प्रान्तको राजधानी हो।

यो प्रान्तमा तालीबान लडाकुहरु तथा बलोच पृथकतावादीहरु सकृय छन्।

निशाना

त्यस्तै अल्पसंख्यक शिया समुदायलाई पनि पटक पटक निशाना बनाउने गरिएको छ।

गत जुन महिनामा सत्तामा आएको प्रधानमन्त्री नवाज शरीफको सरकारले उग्रवादी समूहहरुसंग वार्ता गर्ने जनाएको थियो।

अधिकारीहरुले भनेका छन्, उनीहरु उग्रवादसंग जुध्नकालागि सबै राजनीतिक दलका प्रतिनिधिहरुको भेला बोलाइ एउटा विस्तृत सुरक्षा रणनीति बनाउन चाहन्छन्।

तर अहिलेसम्म सर्वदलीय भेला बोलाइएको छैन र त्यस्तो कुनै रणनीति प्रकाशित गरिएको पनि छैन।

बलोचिस्तानमा जारी गृहयुद्धमा अहिलेसम्म हजारौं मानिसहरुको ज्यान गैसकेको छ।

बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पनि हो।

पाकिस्तान सरकार विरुद्ध पछिल्लो बलोच छापामार युद्ध दश बर्ष अघि शुरु भएको थियो।