मुठभेडको सम्भावना बढ्यो: नेकपा माओवादी

  • 11 अगस्ट 2013
मोहन वैद्य
Image caption आफ्ना माग पूरा नभए निर्वाचनको 'सक्रिय बहिष्कार' गर्ने चेतावनी नेकपा माओवादीले दिएको छ

सरकार परिवर्तन र चुनावको मिति सार्ने लगायतका आफ्ना मागमा प्रमुख दलहरु सहमत नहुने लक्षण देखिएपछि मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले अब निर्वाचनको साटो मुठभेड हुने सम्भावना बढेको जनाएको छ।

ऊ बाहेकका अन्य मुख्य असन्तुष्ट दलहरुलाई भने समानुपातिक तर्फबाट निर्वाचित हुने सीट संख्या बढाएर भएपनि मंसिरमा हुने निर्वाचनमा सहभागी गराउने सरकार समर्थक दलहरुको योजना देखिएको बेला माओवादीको सो धारणा आएको हो।

अमान्य

पछिल्लो समय सरकार समर्थक चार राजनीतिक शक्तिका नेताहरुले सरकार परिवर्तन र मिति सार्ने कुरा आफुहरुलाई अमान्य हुने सार्वजनिक भनाइहरु राख्न थालेका छन्।

यदि असन्तुष्ट दलहरुको चित्त बुझ्छ भने समानुपातिकतर्फ निर्वाचित हुनेको संख्या बढाउन सकिने उनीहरुले संकेत गरेका छन्।

त्यस्तो धारणा पछिल्ला समयमा नेपाली कांग्रेसका नेताहरुले पनि राख्न थालेका हुन्।

तर मुख्य दलहरुको सो भनाईले वैद्य माओवादीको चित्त नबुझ्ने प्रष्ट छ। उक्त दलका उपाध्यक्ष सी पी गजुरेलले त अब चुनाव होइन मुठभेड हुनसक्ने सम्भावना व्यक्त गरे।

“अब यस्ता भनाई आइसकेपछि हामी निर्वाचनमा जाने भन्ने कुरै आउँदैन। अब जसरी अहिले सरकार र सरकार समर्थक दलहरुले प्रचार गरिरहेका छन्, मुठभेड चाहीं होला तर निर्वाचन चाहीं हुँदैन,” गजुरेलको भनाई थियो।

सशंकित

त्यस्तो मुठभेड सरकार र सरकारपक्षीय दलहरुकै कारण हुने उनको भनाई थियो।

पटक पटकको पत्राचारपछि वार्तामा बस्न इच्छा देखाएको सो दल मुख्य दलका प्रमुख नेताहरुले व्यक्त गरिरहेका पछिल्ला सार्वजनिक अभिव्यक्तिहरुबाट सशंकित बनेको गजुरेलले बताए।

अहिले मुख्य दलको प्रयास खासगरी उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम नेपाल तथा अशोक राई नेतृत्वको संघीय समाजवादी दललाई मनाउन लक्षित देखिन्छ।

उनीहरु साँच्चिकै माने भने हाल दलहरुबीच सहमति भै कायम ४९१ सदस्यीय संविधानसभाको आकार बढ्न सक्नेछ।

विगतमा ६०१ को ठूलो सभा भएको भनी आलोचित भएका कारण मुख्य दलहरुले समानुपातिक तर्फको सीट संख्या घटाउने सहमति गरेका थिए।

उक्त सहमति अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ २४०/२४० सीट तथा मनोनित तर्फ ११ सीट कायम गरिएको थियो।