राष्ट्रपतिको सवारीको मारमा सर्वसाधारण

  • 11 अगस्ट 2013
काठमाण्डूको सड्क
Image caption काठमाण्डूको सडकमा विभिन्न प्रदर्शन र विशिष्ट व्यक्तिहरुको आवागमनले थप जाम हुने गर्छ

राष्ट्रपति रामवरण यादव राजधानी काठमाण्डूको एउटा सांस्कृतिक कार्यक्रममा जाँदा र त्यहाँबाट फर्किँदा अपनाइएको सुरक्षा सतर्कताका कारण सर्वसाधारणले वर्षे झरीमा सडक जामको सास्ती खेप्नु पर्‍यो।

राष्ट्रपति यादव आइतवार नेपाली सेनाको भद्रकालीस्थिति अफिसर्स क्लवमा भारतीय दूतावासले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका थिए।

प्रहरीले शितल निवासदेखि भद्रकालीसम्मका केही ठाउँमा सर्वसाधारण र सवारी साधनलाई रोकेर बाटो खाली गराएको थियो भने कतिपय स्थानबाट अन्यत्रै मोडिदिएको थियो।

काठमाण्डूको ट्राफिक अवस्थाबारे जानकारी दिने उपत्यका ट्राफिक नियन्त्रण कक्षका एकजना प्रहरीले बीबीसीलाई भने, "राष्ट्रपतिज्यूको सवारीका कारण आधा घण्टा बाटो खाली गरिएको हो।"

वाध्यता

अति विशिष्ट व्यक्तिहरुको राजकीय भ्रमण वा औपचारिक कार्यक्रमका क्रममा बाहेक अरु बेला बाटो खाली नगराइने प्रचलन रहेको अधिकारीहरु बताउँछन्।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी नवराज सिलवालले भने, "तर आइतबार लाजिम्पाटको बाटो मर्मतका कारण बन्द रहेकाले प्राविधिक वाध्यताले राष्ट्रपतिज्यूको सवारी बालुवाटारको बाटो गराउँदा केहीबेर जाम परेको हुनसक्छ।"

पहिले पहिले हुने गरेका राजाको सवारीको झल्को दिने गणतन्त्रकालीन विशिष्ट व्यक्तिहरुको आवागमनका कारण सर्वसाधारणले व्यहोरेको यो नयाँ सास्ती भने होइन।

राष्ट्रपतिको चाहना

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति स्वयमले आफ्ना कारणले जनतालाई दुख नहोस भनेर पटक-पटक सम्वन्धित निकायलाई भनि सकेका छन्।

दाहालले भने, "अनावश्यक तामझाम गरेर सर्वसाधारणलाई दुख दिनु हुन्न भन्ने राष्ट्रपति र राष्ट्रपति कार्यालयको मान्यता हो।"

पहिले पहिले धेरै गुनासो आउने गरेको तर पछि त्यसमा निकै कमी आएको उनको भनाइ थियो।

उनले भने, "फेरि त्यस्ता गुनासो आएमा सम्बन्धित निकायलाई घच्घच्याएर सच्याउने प्रयास राष्ट्रपति कार्यालयले तुरुन्तै गर्छ।"

सुरक्षा चासो

जब राष्ट्रपति स्वयं जनतालाई समस्या नपरोस भन्ने चाहन्छन् भने सुरक्षा अंगको के त्यस्तो वाध्यता छ उसले जनसाधारणलाई बाटो-घाटोमा थुनछेक गर्छ?

प्रहरी प्रवक्ता सिलवालले भने, "हो, म काठमाण्डू प्रहरी प्रमुख हुँदा पनि राष्ट्रपतिज्यूले वारम्वार 'ल है, मेरो कारणले जनतालाई असर पर्ने गरी नगर्नु होला' भन्ने गर्नु हुन्थ्यो, विशिष्ट व्यक्तिले आफ्नो किसिमले बुझ्नु हुन्छ तर सुरक्षा नियकाले सुरक्षाको दृष्टिकोणबाट पनि हेर्नु पर्‍यो नि।"

यसअघि व्यापक जनगुनासो आएपछि ट्राफिक प्रहरीले काठमाण्डूभित्र राष्ट्रपतिको आवागमन निकै गोप्य र सरल उपायले गराउने गरेको थियो।

संयोजनकारी सुरक्षा सतर्कता अपनाउन सके सडकमा सर्वसाधारणलाई मर्का नपर्ने गरी विशिष्ट व्यक्तिको आवागमन गराउन सकिने उच्च प्रहरी अधिकारीहरु नै बताउँछन्।