‘विदेशिएका लाखौं नेपाली युवा जोखिममा’

  • 12 अगस्ट 2013
tia
Image caption दैनिक सरदर १५०० नेपाली कामको खोजीमा विदेशिने गरेको सरकारी तथ्यांक छ

‘युवा आप्रवसन: सुरक्षित र व्यवस्थित गरौं’ भन्ने नाराका साथ सोमवार अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका बेला नेपालबाट हरेक दिन कामको खोजीमा विदेशिने करिब १५ सय युवाको अवस्था निकै जोखिमपूर्ण तथा अव्यवस्थित भएको बताइएको छ।

यसरी देशभित्र काम नपाएर विदेशिएका झण्डै ३० लाख नेपाली युवाले पठाउने अर्बौं रुपैयाँको रेमिट्यान्स अर्थात् विप्रेषणले अर्थतन्त्र धानिएको छ तर तिनै युवा अत्यन्तै जोखिममा रहेको अधिकारीहरु समेत स्वीकार्छन्।

ठगीमा पर्ने, भनेको काम नदिने तथा कार्यस्थलमा हुने दुर्घटनाजस्ता जोखिमका बीच ती युवाले काम गर्नुपरेको बताइन्छ।

सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीका दैनिक सरदर चार वटा शव मुलुक भित्रिनेमात्रै होइन बाँचेकाहरु पनि अनेकौं पीडाका कथा लिएर फर्कन्छन्।

आंकडा

१६ देखि ४० वर्ष उमेरका सक्रिय जनशक्ति खाडी मुलुक, भारत तथा अन्य देशहरुमा पसिना बगाइरहेका छन्।

नेपालमा यो उमेर समूहका युवाहरु झण्डै ४० प्रतिशत रहेको आंकडा छ।

अधिकांश युवा निम्न तलब र जोखिमयुक्त श्रममा काम गर्न वाध्य भएको विवरण बारम्बार आउने गर्छन्।

सरकारले झण्डै ३० लाखको हाराहारीमा युवाहरु विदेशमा रहेको आंकलन गरे पनि युवासम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरुले भने त्यो संख्या ५० लाख भएको बताउँछन्।

भारतसंगको खुला सीमाका कारण त्यहाँ रहेका तथा अन्य कतिपय मुलुकमा गैरकानूनी रुपमा काम गर्ने युवाहरुको आंकडा सरकारसँग नभएकोले वास्तविक संख्या यकीन गर्ने झनै कठिन रहेको उनीहरुको भनाइ छ।

समस्या

कार्यस्थल सुरक्षित नहुनु, बारम्बार दुर्घटना तथा आक्रमणमा पर्नु, उचित स्वास्थोपचार नपाउनु लगायत विदेशमा रहेका नेपाली युवाहरुका प्रमुख समस्या हुन्।

यिनै समस्यालाई सम्बोधन गर्न भन्दै नेपाल सरकारले राष्ट्रिय युवा नीति २०६६ र वैदेशिक रोजगार नीति २०६८ समेत ल्याएको छ ।

तर यो प्रभावकारी नभएको यस क्षेत्रमा सक्रिय अभियानकर्ताहरुले बताएका छन्।

तीमध्येका एक, युवा संस्था सञ्जालका पूर्व अध्यक्ष प्रदिप परियारले भने, “सरकार नीति ल्याउने र माथिल्लो तहमा रहेका मान्छेहरुलाई अल्मल्याउने काममा मात्रै लागेको छ। साँच्चै जहाँ पुग्नु पर्ने हो त्यहाँ सरकार पुगेको छैन।”

पहल

तर ती नीति कार्यान्वयनमा सरकारले पहल जारी राखेको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वैकुण्ठ काफ्लेले बीबीसीलाई बताए।

उनले भने, “युवाहरु विदेशमा सुरक्षित तवरले बसेका छन् कि छैनन् वा जोखिममा परेका छन् कि भन्ने बुझ्न विभिन्न कूटनीतिक माध्यमबाट हामीले निरन्तर प्रयास गरिरहेका छौं।”

तथापि नेपाल सरकार र सम्बन्धित देशमा रहेको नेपाली दूतावासले आपत विपदमा उचित सहयोग र पहल नगरेको विदेशमा दु:ख पाएका नेपाली युवाहरुले गुनासो गर्ने गरेका छन्।

तिनै युवाले पठाउने गरेको रेमिट्यान्सकै कारण लामो समयदेखि नेपालको अर्थतन्त्र धानिएको अर्थविद्हरु बताउँछन्।