सरकार र ३३ दलीय मोर्चाबीच वार्ता हुँदै

  • 13 अगस्ट 2013
खिलराज रेग्मी
Image caption सरकारले निर्वाचनको कार्यादेशलाई मूल एजेन्डाको रुपमा वार्तामा प्रस्तुत गर्ने बताएको छ

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सहित ३३ दलीय भनिने मोर्चामा आबद्ध दलका प्रतिनिधिहरु र सरकारबीच पहिलो पटक मंगलबार औपचारिक वार्ता हुँदैछ।

पटक पटकको पत्राचारपछि, आफैंले हटाउन चाहेको सरकारसँग मोर्चा वार्तामा बस्न लागेको हो। मंसिरमा निर्वाचन गराउने आफ्नो मुख्य कार्यादेशलाई मनन गर्दै वार्तामा बस्न लागेको सरकारका प्रवक्ताले जनाएका छन्।

पहिलो वार्ता

सरकार समर्थक चार प्रमुख राजनीतिक शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक समितिसँग यसअघिनै वार्ता थालिसकेको मोर्चाको सरकारसंग भने हालसम्म औपचारिक वार्ता भएको थिएन।

लामो समयको अनौपचारिक छलफल र तीन पटक सम्म पत्र पठाएपछि मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सहित ३३ दलीय भनिने मोर्चामा आबद्ध दलका प्रतिनिधिहरुसँग सरकारले पहिलो पटक मंगलबार औपचारिक वार्ता गर्दैछ।

वार्ताको क्रममा आफुहरुको प्रस्तुतीबारे सरकारका प्रवक्ता एवम सूचना तथा संचार मन्त्री माधव पौडेल भन्छन्, "यो पहिलो वार्ता भएको हुनाले पहिला त हामी उहाँहरुको माग औपचारिक रुपमा हेर्छौं। हाम्रो प्रस्तुतीको विषयमा त हामी स्पष्ट छौं। हामीलाई प्राप्त कार्यादेश जे हो त्यसमा सीमित रहेर कुरा गर्छौं।"

पुरानै अडान

वैद्य नेतृत्वको मोर्चा भने जसरी भए पनि चुनावको मिति सार्ने र सरकार परिवर्तन गर्ने अडानमा छ।

उच्चस्तरीय राजनीतिक समितिको खारेजीको माग राख्दै समितिसँगै वार्ता गरीरहेको मोर्चाले आफैले खारेज हुनुपर्छ भनेको सरकारसँग पनि उसैगरी वार्ता गर्दैछ।

नेकपा माओवादीका सचिव देव गुरुङ भन्छन्, "यो सरकारको परिवर्तनको लागि पनि त यही सरकारले नै सिफारीस गर्नु पर्‍यो नि राष्ट्रपतिबाट अनुमोदन् हुनका लागि। निर्वाचन सार्ने प्रक्रिया पनि त्यही हो।"

दुवै पक्षको अडान र ढिपीका कारण मंगलबारको वार्ताले सकारात्मक निकास निकाल्न सक्नेमा कतिपयले आशंका ब्यक्त गरेका छन्।