हिंसा चर्काएको दोषमा चीनमा दुईलाई मृत्युदण्ड

  • 13 अगस्ट 2013
Image caption चीनको सिन्जियाङ् क्षेत्र दुई समुदायबीचको तनावका कारण अशान्त रहँदै आएको छ

चीनको एक अदालतले पश्चिमी क्षेत्र सिन्जियाङ्मा आक्रमण गरेको एक आतंककारी समुहसित सम्बद्ध रहेका भन्दै दुईजनालाई मृत्यूदण्ड सजाय सुनाएको छ।

चिनियाँ सन्चार माध्यमहरूले जनाए अनुसार तीन अन्यलाई लामो कारागार सजाय दिइएको छ।

सो आक्रमणमा २१ जनाको ज्यान गएको थियो।

मारिनेमा १५ जना अधिकारी वा सुरक्षाकर्मीहरू थिए।

उक्त घटना अप्रिल २३ तारिखको दिन एउटा शहरको सरकारी क्षेत्रमा भएको थियो।

'योजनाबद्ध'

चीनले सो आक्रमण एउटा हिंसात्मक आतंककारी समुहले योजनाबद्ध ढंगले गराएको जनाएको छ।

तर केही समाचारहरूले सो द्वन्द्व अशान्त रहेको उक्त क्षेत्रमा देखिंदै आएको जातीय तनावको परिणाम भएको बताएका छन्।

सिन्जियाङ् अल्पसंख्यक उइघुर मुसलमान समुदायको इलाका हो जसले सो क्षेत्रको जनसंख्याको ४५ प्रतिशत ओगटेको छ।

तर सो जातीले चिनियाँ हान समुदायले त्यहाँ ठ्रलो संख्यामा बसाइ सराइ गरेपछि आफ्नो पारम्परिक संस्कृति ओझेलमा परेको बताउने गरेको छ।

स्वायत्तता

चिनियाँ अधिकारीहरूले सिन्जियाङ्मा हुने हिंसात्मक घटनाकालागि क्षेत्रीय स्वायत्तताको माग गरिरहेका उइघुर अतिवादीहरूमाथि दोष लगाउने गरेका छन्।

चीनका सन्चार माध्यमहरूले अधिकारीहरूले एउटा घरमा शंकास्पद गतिविधि देखेपछि गत अप्रिल महिनामा त्यस्तो हिंसा चर्केको बताएका छन्।

सन् २००९ मा सिन्जियाङ्को राजधानी उरूम्कीमा भएको डरलाग्दो दङ्गामा झण्डै २०० जना मारिएका थिए।

मर्नेहरूमा प्राय हान समुदायका चिनियाँहरू थिए।

त्यस यता सो क्षेत्रमा फाट्टफुट्ट हिंसात्मक घटनाहरू भएका छ्न्।