शान्ति वार्ताअघि मुक्त प्यालेस्टिनी बन्दीको स्वागत

  • 14 अगस्ट 2013
इजरेल प्यालेस्टाइन नक्सा
Image caption प्यालेस्टिनीहरु इजरेल अधिनस्त क्षेत्र र गाजा स्ट्रिपमा आफ्नै राज्य बनाउन चाहन्छन्

मुक्त गरिएका प्यालेस्टिनी बन्दीहरु मध्ये ११ जनालाई वेस्ट ब्याङ्क लगिएको थियो जहाँ उनीहरुलाई प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अंकमाल गर्दै स्वागत गरे।

मुक्त हुने वित्तिकै उनीहरुलाई खुसीयाली मनाइरहेका भीडले काँध-काँधमा बोकेका थिए।

केही इजरेलीले पछिल्लो कदमको विरोध गरेका छन्, तर प्यालेस्टिनी नेताहरुले आउँदा दिनमा सबै प्यालेस्टिनी बन्दी मुक्त हुने आशा व्यक्त गरेका छन्।

बुधबार मध्य पूर्व शान्ति वार्ता शुरु हुनु अघि प्यालेस्टीनी बन्दीहरुलाई मुक्त गर्न इजरेल राजी भएको थियो।

संवाददाताहरु यसलाई शान्ति प्रक्रियाले गति दिन तीन वर्षपछिको पहिलो संकेत मान्छन्।

न्यानो स्वागत

मुक्त भएका बन्दीहरु वेस्ट ब्याङ्क र गाजा पुग्ने वित्तिकै उनीहरुको प्यालेस्टिनी समुदाय तथा आफन्तजनले स्वागत गरेका थिए।

प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बासले यो शुरुवात मात्रै भएको र आउने दिनमा सबै बन्दी मुक्त हुने आशा व्यक्त गरे।

उनले सबै बन्दीहरु मुक्त नगरेसम्म चुप लागेर नबस्ने बताए।

“तपाईंहरुबाट शुरु भएको छ, अब सबै जना मुक्त हुनेछन्।”

अर्का एक नेताले पछिल्लो कदम इश्रा इदी बन्दीगृहमा रहेका सबै बन्दीको निम्ति आशाको किरण भएको बताए।

उनले १०४ जना बन्दीको मुक्तीसंगै भएको शुरुवात सबै ५ हजार प्यालेस्टिनी बन्दीको मुक्तिमा गएर टुंगिने आशा व्यक्त गरे।

कतिपयले यसलाई राष्ट्रपति अब्बासको ठूलो उपलब्धि भनेका छन्।

मुक्त गरिएका बन्दीहरु मध्येका एकजना युसोफ इर शेइदकी पत्नी फातिमाले आफ्ना श्रीमान रिहा हुंदाको अनुभूति वर्णनै गर्न नसकिने बताइन्।

“मेरा अनुभूतिहरु खुसी र पीडा मिश्रीत छन्, म खुशी छु किनकी हामीले लामो समय प्रतिक्षा गर्‍यौं अनि दु:ख यस कुराको हो की अझै कति बन्दीहरु कारागारमै छन्।”

विवाद

मुक्त भएका बन्दीहरुलाई प्यालेस्टिनी पक्षले महान ठानेपनि इजरेली पक्षले तिनलाई आतंकवादी मान्छन्।

प्यालेस्टिनीहरुको बसोबासबारे विवाद अझै कायम रहेपनि अमेरिकी विदेश मन्त्री जन केरीले प्यालेस्टिनीहरु शान्ति प्रक्रियाप्रति प्रतिबध्द रहेको बताए।

इजरेलले सन् १९६७मा वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेम आफ्नो नियन्त्रणमा लिएपछि त्याहाँका सय भन्दा बढी बस्तीमा पाच लाख यहुदी बसोबास गर्छन्।

प्यालेस्टिनीहरु चांहि ती क्षेत्र र गाजा स्ट्रिपमा आफ्नै राज्य बनाउन चाहन्छन्।