इजिप्टमा असीको मृत्यु, राजनीतिक टकराव गहिरियो

  • 17 अगस्ट 2013
इजिप्टमा प्रदर्शनकारी
Image caption मोर्सीका समर्थकहरुले सेनाले कु गरेको भन्दै विरोध प्रदर्शन जारी राखेका छन्

इजिप्टमा गहिरिंदै गएको राजनीतिक संकटमाझ शुक्रबार विपक्षी मुस्लीम ब्रदरहुडले आयोजना गरेको आक्रोश प्रदर्शनको दिनमा देशभर कम्तीमा असीजनाले ज्यान गुमाएका छन्।

राजधानी कायरोको रामसेज चोकमा आक्रोशको दिन भनी विरोध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली चलाएको थियो।

देशका अधिकांश भागमा कर्फ्यु लगाइएको छ, तर अझैपनि कैयौं मानिसहरु सडकमै छन्।

इसमाइलिया, अलेक्जेन्ड्रिया तथा डामियट्टा जस्ता शहरहरुमा कैयौं मारिएका छन्।

तारोमा सेना

प्रदर्शनकारीहरुको आक्रोश खासगरी सेना प्रमुख जनरल अब्देल फताह अल सीसी तर्फ केन्द्रित छ।

मुस्लीम ब्रदरहुडका एकजना समर्थक मोहम्द रामदानले कायरोमा भने, “सीसीले आफुविरुद्धका सबैलाई मारेका छन्। उनीहरुसंग कुनै बन्दूक वा कुनै हतियार थिएन सीसीलाई मार्न। तर उनीहरु सबै मारिए।”

मुस्लीम ब्रदरहुडका समर्थकहरुले उनीहरुकै शब्दमा सैनिक कु नहटाइएसम्म दैनिक विरोध प्रदर्शनको आव्हान गरेका छन्।

खस्किएको आशा

बीबीसीका मध्येपूर्व सम्पादक जेरेमी बावेन भन्छन् अढाइ वर्ष अगाडि राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्युत गरेपछि इजिप्टमा फैलिएको खुशीको माहौल हाल आएर निकै खस्किएको छ।

उनी आफ्नो विश्लेषणमा भन्छन् त्यतिखेर इजिप्टले नयाँ शुरुवात पाएको जस्तो लाग्थ्यो। देशभर अब जीवन सुध्रिन्छ भन्ने आशाहरु जागेका थिए।

तर राजनीतिक विफलता, गढिएर बसेका स्वार्थहरु तथा आर्थिक दुरावस्थाले ती सबै आशाहरु किनार लागे।

अन्य अरब मुलुकहरुमा जस्तै इजिप्टमा पनि सन् २०११ मा भएको क्रान्ति नयाँ पुस्ताका मानिसहरुको असन्तुष्टि र क्रोधले जन्माएको थियो।

सो क्षेत्रका ६० प्रतिशतभन्दा बढि जनता ३० वर्षभन्दा मुनिको उमेरका थिए।

उनीहरुलाई लाग्यो पुरानो पुस्तासंग उनीहरुलाई दिने केही छैन। निराशाको त्यो क्षण त्यतिबेला देखियो जतिबेला आधुनिक सञ्चारका कारण नेताले उनीहरुलाई गुम्स्याएर राख्न सकेनन्।

तर ती क्रान्तिकारीहरुको उर्जा इजिप्टका संगठित शक्ति खासगरी सेना तथा मुस्लीम ब्रदरहुडका अगाडि सेलायो।

गत वर्ष भएको निर्वाचनमा मुस्लीम ब्रदरहुडका मोहम्मद मोर्सी राष्ट्रपति भए।

उनले वाचा गरेजस्तो इजिप्टका सबै जनताको मन जित्न सकेनन्।

त्यसले जन्माएको असन्तुष्टिलाई टेकेर सेनाले उनलाई सत्ताबाट हटाइदियो।

र, अहिले आएर सेना र ब्रदरहुडबीच सोझो टकराव भएको छ।