इजिप्टमा चारदिनको हिंसापछि क्याबिनेट बैठक बस्दै

  • 18 अगस्ट 2013
कायरोस्थित मस्जीदमा सुरक्षा कार्वाही
Image caption शनिवार दिनभरी नै मस्जीदभित्रका प्रदर्शनकारी र सुरक्षासैन्यबीच भीडन्त भएको थियो

इजिप्टमा, अन्तरिम प्रधानमन्त्रीले विपक्षी समूह मुस्लीम ब्रदरहुडलाई कानूनी रुपमा नै भंग गरिनु पर्ने प्रस्ताव राखेका छन्।

सुरक्षा सैन्य र अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुबीच चार दिन देखिको भीडन्तमा सैयौंको ज्यान गएपछि आईतबार मन्त्रिमण्डलको बैठक बस्ने अनुमान गरिएको छ।

शनिवार दिनभरी जसो सुरक्षाकर्मी र विरोध प्रदर्शनकारीहरुको द्वन्द्वको केन्द्रमा रहेको राजधानी कायरोस्थित एउटा मस्जीदलाई खाली गरिएको अधिकारीहरुले बताएका छन्।

राजधानी कायरोस्थित उक्त अल फतेह मस्जिदलाई गत शुक्रबार विरोध प्रदर्शनकारीहरुमाथि सुरक्षा सैन्यको कार्वाही हुंदा भएका घाइतेहरुको उपचार गर्ने अस्थायी क्लिनीक र मृतकहरुको शव सुरक्षित राख्‍ने स्थानको रुपमा प्रयोग गरिंदै आएको थियो।

आधार

पछि त्यसलाई विरोध प्रदर्शनकारीहरुले आफ्नो बलियो आधारका रुपमा प्रयोग गर्न थालेपछि सुरक्षा सैन्यसंग भीडन्त हुन पुगेको सम्बाददाताहरुले बताएका छन्।

त्यहां रहेका मुस्लीम ब्रदरहुडका सदस्यहरुलाई बाहिर निकाल्न सुरक्षा सैन्यले अश्रू ग्यासका साथै गोली समेत प्रहार गरेका थिए।

त्यहांभित्र रहेका थुप्रैलाई गिरफ्तार गरिएको छ र सरकारी टेलिभिजनले पक्राउ परेका मानिसहरु मस्जीदको भुईंमा घुंडा टेकेर बसेका दृश्य देखाएको थियो।

Image caption सैयौं विपक्षी समर्थकहरुलाई सुरक्षा सैन्यले बल प्रयोग गरी अल फतेह मस्जीदबाट बाहिर निकालेको छ

सरकारी अधिकारीहरु, मुस्लीम ब्रदरहुडका समर्थकहरुले कुनै पनि भवन वा स्थानलाई विरोध शिविरका रुपमा प्रयोग गर्न नपाउन भन्ने प्रयासमा लागेका कायरोस्थित बीबीसी सम्बाददाता बेथनी बेलले बताएकी छिन्।

माग

मुस्लीम ब्रदरहुडले अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीलाई समर्थन गर्छ र उनलाई पुन: पदस्थापन गरिनु पर्ने माग गरिरहेको छ।

मोहम्मद मोर्सीको सरकारसंग नजिक रहेको भएपनि, प्राविधिक रुपमा मुस्लीम ब्रदरहुड एउटा प्रतिबन्धित संगठनका रुपमा रहंदै आएको छ।

किनकि सन् १९५४ मा उक्त संगठनलाई तत्कालीन सैनिक शासकले औपचारिक रुपमा भंग गरिदिएका थिए।

हालै मात्र उक्त संगठनले आफुलाई एउटा गैरसरकारी संस्थाको रुपमा दर्ता गरेको थियो।

अब अन्तरिम प्रधानमन्त्रीले प्रस्ताव गरे अनुरुप उक्त संगठनलाई कानूनी रुपमा भंग गरिएमा त्यसका सबै सम्पति जफत हुन सक्छ।