इजिप्टमा सबैका लागि स्थान छ: सेना प्रमुख

  • 19 अगस्ट 2013
सेना प्रमुख जनरल सीसी
Image caption सेना प्रमुख सीसीले हिंसा भड्किए सेना चुप लागेर नबस्ने बताएका छन्

इजिप्टका सेना प्रमुख जनरल अब्देल फतह अल सीसीले प्रजातान्त्रिक मार्ग पुनर्निर्माणमा सहयोग गर्न भन्दै विपक्षी मुस्लीम ब्रदरहुडलाई राजनितिक प्रकृयामा समावेश हुन आह्वान गरेका छन्।

गत साता सैयौंको ज्यान जाने गरि मोर्सीको दल मुस्लिम ब्रदरहुडका समर्थकहरुमाथि गरिएको कारवाहि यता पहिलो पटक प्रतिकृया दिंदै जनरल सीसीले इजिप्टमा सबैका लागि ठाउँ भए पनि कुनै प्रकारको हिंसा सह्य नहुने बताएका छन्।

उनले हिंसा भड्किए सेना चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

“आफुमाथि कसले शासन गर्ने भनी छान्न इजिप्टका जनता स्वतन्त्र छन्। हामी त्यो स्वतन्त्रताको रक्षक हौं,” जनरल सीसीको भनाई थियो।

बन्दीहरु मारिए

राजधानी कायरोमा चर्किएको पछिल्लो हिंसाको घटनामा शहर बाहिरको कारागारमा स्थानान्तरणको क्रममा भाग्ने कोशिश गर्ने कम्तीमा ३६ जना मुस्लिम ब्रदरहुड समर्थक बन्दीहरु मारिएका छन्।

त्यहाँका आन्तरिक मामिला मन्त्रीले शुरुमा केही बन्दीहरुले एक जना सैनिक अधिकृतलाई बन्धक बनाएको तथा उनको अघि पछि रहेका गाडीहरुमा अज्ञात बन्दुकधारीहरुद्बारा आक्रमण पछि भएको दोहोरो गोली हानाहानमा ती बन्दीहरु मारिएको बताएका थिए।

तर पछि, सेनाले प्रयोग गरेको अश्रु ग्याँसले निस्सासिएर उनीहरुको मृत्यु भएको भनी मन्त्रालयले जनाएको थियो।

राजधानी कायरोस्थित मोर्सीका समर्थकहरुको विरोध शिविर हटाउन सेनाले गरेको कारवाहीपछि गत बुधबार यता ७० जना सेना तथा प्रहरी लगायत ८३० जनाले ज्यान गुमाएका छन्।

चुप नलाग्ने

जनरल सीसीले मोर्सीलाई यसै वर्षको जुलाई ३ का दिन सत्ताच्यूत गरिदिएका थिए।

त्यतिखेर कायरोमा मोर्सी विरुद्ध प्रदर्शन बढ्दै गएपछि दशौं लाख जनताको माग बेवास्ता गर्न मिल्दैन भन्दै सेनाले प्रजातान्त्रिक ढंगबाट इजिप्टमा प्रथम पटक निर्वाचित राष्ट्रपति मोर्सीलाई हटाएको थियो।

पछिल्ला दिनमा मोर्सीका समर्थकहरुलाई कायरोका सडकबाट हटाउनु अघि जनरल सीसीले उनकै शब्दमा हिंसा तथा आतंकवादसंग लड्न सेनालाई अधिकार दिन इजिप्टका जनतालाई आग्रह गरेका थिए।

आइतबार सेना तथा प्रहरी अधिकृतहरुलाई सम्बोधन गर्दै जनरल सीसीले पछिल्लो तनाव पश्चात अब सेनाले थप हिंसा हुन नदिने चेतावनी दिए।

सेनाको फेसबुकमा उनलाई उदृत गर्दै भनिएको छ “देश र जनताको विनाश हामी चुपचाप हेरेर बस्न सक्दैनौं”।

तर संगसंगै उनले विपक्षीहरुलाई पनि राजनीतिक प्रक्रियामा भाग लिन आव्हान गरेका छन्।

“यहाँ सबैका लागि स्थान छ र हामी इजिप्टका नागरिकहरुको हरेक थोपा रगतबारे सचेत छौं।”

विपक्षी दल मुस्लीम ब्रदरहुडले, सुरक्षा बलले आफ्ना शिविरहरु भत्काए यता हरेक दिन प्रदर्शनका लागि आफ्ना समर्थकहरुलाई आह्वान गरेको छ।