समयसीमा घर्किदा पनि वार्ता विफल

  • 19 अगस्ट 2013
निर्वाचन आयोगको बैठक
Image caption आयोगले तोकिएको चुनाव गराउन मंगलबारसम्म राजनीतिक सहमति जुटाउनु पर्ने बताएको थियो

तोकिएको मितिमै संविधानसभाको दोश्रो चुनाव गराउने अडानमा रहेको सरकार मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र उसको गठबन्धनलाई प्रस्तावित चुनावप्रति सहमत गराउन फेरि पनि विफल भएको छ।

यथास्थितिमा गराइने चुनावमा सहभागी नहुने अडान नेकपा-माओवादी र उसको गठबन्धनले नछाडेपछि सोमबारको वार्ता निश्कर्षविहीन भएको हो।

नेकपा-माओवादीका सचिव देव गुरुङले भने, "यथास्थितिमा परिवर्तन ल्याउन सर्वपक्षीय गोलमेच सम्मेलन गरेर त्यसको सहमति अनुसार चुनाव लगायतका प्रकृया अगाडि बढाऔं भन्ने हाम्रो प्रस्ताव छ, तर उहाँहरुले त्यसको कार्यादेशबारे प्रस्ट हुनु पर्छ भन्ने आदि कुरा गर्नु भयो, कुनै निर्णय भएन।"

चमत्कार

आफ्नो विघटनको माग जुन मोर्चाले गरिरहेको छ, सरकारले उससँगको वार्तालाई सहमतिमा पुर्‍याएर 'चमत्कार' गर्ला भन्ने विश्वास धेरैलाई थिएन, भयो पनि त्यसै।

मोर्चाले माग अनुसार सर्वपक्षीय राजनीतिक वा गोलमेच सम्मेलन गर्दा निर्वाचन आयोगको अहिलेको तालिका अनुसार मंसिर ४ गते नै चुनाव सम्भव देखिन्न।

तै पनि दुबै पक्षले सहमतिको माया मारिसकेका छैनन्।

त्यसैले निर्वाचन आयोगले चुनावभन्दा ९० दिनअघि राजनीतिक सहमति हुनु पर्ने भन्दै दिएको औपचारिक समयसीमा मंगलबार सकिन लाग्दा पनि निष्कर्षविहीन वार्ताको श्रृँखला लम्बिदो छ।

लुकेको वाध्यता

वार्ताको टेवुलमा सरकारको प्रस्तुतिमा विपक्षी गठबन्धनले कहिँ कतै सकारात्मक भाव देख्नु पनि त्यसको एउटा कारण हुनसक्छ।

देव गुरुङले भने, "दुबै पक्षको प्राथमिकतामा थोरै-थोरै अन्तर परिराख्या छ, फेरि पनि सहमति अनुसारै अघि बढ्नु पर्छ भन्ने सहमति-सहमति जस्तै देखिन्छ, त्यसैले फेरि गृहकार्य गरेर बसौं भन्ने कुरा भा'छ।"

समयले सीमा नाघ्नै लाग्दा समेत विपरित अडानका दुबै पक्षले निश्कर्षविहीन वार्ताप्रतिको मोह नत्याग्नुमा आफूलाई वार्ता र सहमति विरोधी नरहेको देखाउने वाध्यता लुकेको कतिपयको ठम्याइ छ।