डलरको भाउ आकाशिएपछि महंगी बढ्ने चिन्ता

  • 20 अगस्ट 2013
भारतीय रुपियाँ
Image caption भारतीय रुपियाँसंग स्थीर विनिमय दर भएकाले भारुसंगै नेपाली मुद्राको मूल्य घटेको बताईन्छ

एक अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको मूल्य सय रुपियाँ नाघेपछि, त्यसले आयातमा आधारित अर्थतन्त्रलाई गम्भीर धक्का पुग्ने चिन्ता विज्ञहरुले गरेका छन्।

भारतीय रुपियाँसंग स्थीर विनिमय दर भएको नेपाली मुद्रा, भारु को अवस्था लगातार खस्किएपछि त्यसै अनुरुप कमजोर भएको हो।

भारतको आर्थिक वृद्धि कमजोर हुन थालेको तथा लगानीकर्ताहरुले अन्यत्र लगानी गर्न थालेकाले भारु कमजोर बन्दै गएको बताईन्छ।

त्यसको सोझो असर नेपाली मुद्रामा परिरहेको छ।

व्यापार घाटा

परिणाम स्वरुप तेलको भाउ तथा आयातित सामानहरुको भाउ बढ्ने सम्भावना रहेको छ।

“सरकारले ७/८ प्रतिशतमा महंगी अर्थात मुद्रास्फीतिलाई सीमित गर्ने भनेको थियो। तर अब त्यो सम्भव देखिंदैन,” नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले भने।

सरकारी अधिकारीहरुले हाल भइरहेको डलरको भाउ वृद्धिलाई आफुहरुले चिन्ताजनक रुपमा केलाइरहेको बताएका छन्।

“भारतीय अर्थतन्त्रसंग हामी गाँसिएको हुँदा यो भाउ वृद्धिलाई हामी एक्लैले नियन्त्रण गर्न सक्ने अवस्था छैन,” अर्थ मन्त्रालयका सल्लाहकार चिरञ्जीवी नेपालको भनाई।

यसले महंगीको दर दोहोरो अंकमा पुर्‍याइदिने डर एकातिर छ भने अर्कातिर अहिलेनै पाँच खर्ब रुपियाँको हाराहारीमा रहेको व्यापार घाटा थप चुलिनसक्ने सम्भावना छ।