इजिप्टका वरिष्ठ विपक्षी नेता गिरफ्तार

  • 20 अगस्ट 2013
Image caption पक्राउ परेका बादीका तस्वीरहरू सार्वजनिक गरिएपछि विपक्षीहरू कम्जोर हुने सोचाइ सेनाको रहेको देखिएको छ

इजिप्टमा सैन्य सरकारको विरोध गरिरहेको मुस्लिम ब्रदरहुडका एक वरिष्ठ नेता, मोहम्मद बदिआ पक्राउ परेका अधिकारीहरूले बताएका छन्।

हिंसा र हत्या भड्काएको आरोपमा केही समयअघि पक्राउ पुर्जी जारी गरिएपछि उनी भागी हिंडेका थिए।

राष्ट्रपति मोहम्मद मोर्सीलाई बर्खास्त गरिएपछि विरोधमा उत्रिएका इस्लामीहरू विरूद्ध कारवाही तीव्र बनाइँदै गर्दा इजिप्टमा संकटकाल लागु गरिएको स्थिति छ।

पछिल्लो पटक हिंसा शुरू भएपछि झण्डै ९०० जना मारिएका छन्।

ती मध्ये ३६ इस्लामी विद्रोहीहरू कैदीहरू राखिने एउटा भ्यानमा आइतवार मारिएका थिए।

सोमबार संदिग्ध इस्लामी उग्रवादीहरूले साइनाइ शहरमा २५ जना प्रहरीलाई धरापमा पारी मारेका थिए।

राष्ट्रिय शोक

सो घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ।

गाजासितको सीमा क्षेत्र नजिक भएको सो हमला इजिप्टमा सुरक्षाबलमाथि भएका सबै भन्दा ठूला आक्रमणहरू मध्येको एक थियो।

सरकारी सुरक्षाबलमाथि भएको त्यस्तो ठूलो आक्रमणपछि बदिआ पक्राउमा परेका समाचार आएको छ।

उनलाई उत्तरपूर्वी कायरोको नास्र शहरमा नियन्त्रणमा लिइएको थियो।

गिरफ्तार गरिएपछि उनका तस्वीरहरू नीजि टेलिभिजन च्यानलहरूमा देखाइएको थियो।

कायरोस्थित बीबीसीका एक संवाददाता भन्छन्, सेनाले मुस्लिम ब्रदरहुडमाथिको विजय देखाउन र भविष्यमा राजनीतिक वार्ता भए त्यसमा सो समुह कम्जोर रूपमा प्रस्तुत होस् भनी ती तस्वीरहरू सार्वजनिक गरेको हो।

केही दिनअघिका विरोध प्रदर्शनहरुका क्रममा बदिआका छोरा अम्मार मारिएका थिए।

ब्रदरहुडको राजनीतिक संगठन फ्रिडम एण्ड जस्टिस पार्टीले वर्तमान उपनेता महमौद एज्जातले अहिलेको लागि बादीको भूमिका निर्वाह गर्ने आफ्नो वेबसाइटमा जनाएको छ।