ट्रान्सफर्मर प्रकरणमाथि ‘अनुसन्धान तीव्र’

  • 21 अगस्ट 2013
ट्रान्सफर्मर
Image caption जारी अनुसन्धान सकिएपछि अन्य ट्रान्सफर्मर खरीद प्रकरणमाथि अनुसन्धान हुने अख्तियारको भनाइ छ

नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरीद प्रकरणमाथि अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले बताएका छन्।

अख्तियारले भ्रष्टाचारविरुद्धको कारवाही अघि बढाउदै मंगलबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सहित थप १० जना उच्च अधिकारीहरुलाई आर्थिक अनियमितताको आशंकामा हिरासतमा लिएको थियो।

चीनको एक कम्पनीबाट ट्रान्सफर्मर खरीद गर्दा ठूलो आर्थिक चलखेल भएको आशंकामा अनुसन्धानको लागि यस अघि प्राधिकरणका १२ जनालाई हिरासतमा लिइएको थियो।

नेतृत्व तहका सहित अख्तियारको हिरासतमा पुगेका प्राधिकरणका अधिकारीहरुको संख्या २२ पुगेको छ।

यसबाट प्राधिकरणमा अन्यौलको वातावरण छाउने चिन्ता कतिपयको छ।

ट्रान्सफर्मर विद्युत वितरण प्रणालीमा प्रयोग गरिने एक महत्वपूर्ण उपकरण हो।

‘बदनियतपूर्वक’

चीनबाट ट्रान्सफर्मर खरीद गर्दा आर्थिक अनियमितता भएको आशंकामा अनुसन्धानको लागि प्राधिकरणका २२ अधिकारीहरु संगै २ जना चीनिया नागरिक पनि हिरासतमा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार हिरासतमा लिइएका बहालवाला र पूर्व कार्यकारी निर्देशक सहितका अधिकारीहरुको संलग्नताबारे अनुसन्धान छिटो अघि बढाउन अनुसन्धानकर्ताहरु लागि परेका छन्।

“साथीहरु लागि पर्नु भएको छ, हामी छिटो भन्दा छिटो मुद्दा चलाउने अवस्थामा पुग्छौं,” सापकोटाले भने।

प्राधिकरणले केही समय अघि चीनको हेवेइ कम्पनीबाट करीब ३० करोड रुपैंयाको लागतमा झण्डै दुई हजार थान ट्रान्सफर्मर खरीद गरेको थियो।

ट्रान्सफर्मर खरीद गर्दा आर्थिक अनियमितता भएको भन्ने उजुरीको छानबीनको क्रममा अख्तियारले स्पष्ट रुपमा कमसल खालको ट्रान्सफर्मर खरीद गरेको प्रमाण भेटिएको अख्तियारका प्रवक्ता सापकोटाले बताए।

“ट्रान्सफर्मरको माग गर्दा त्यसभित्र तामाको तार हुनु पर्ने भनिएकोमा कागजहरु हेर्दा त्यस्को सट्टा बदनियतपूर्वक एलुमुनीयम प्रयोग भएको पाइयो,” उनले भने।

जारी अनुसन्धानले नेपाल विद्युत प्राधिकरणको दैनिक कामकाजमा खासै असर नपर्ने तर्क कतिपय अधिकारीहरुले गरे।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा अर्थशास्त्री भोलानाथ चालिसेले यसले देशमा विद्युत उत्पादन, प्रसारण र वितरणको जिम्मेवारी लिएको निकायमा शुद्धिकरण शुरु गर्ने आशा व्यक्त गरे।

‘संस्थागत भ्रष्टाचार’

“भ्रष्टाचार माथिदेखि तलसम्म संस्थागत भएको यो राम्रो उदाहरण हो, अब ज्यादै इमान्दार व्यक्ति नभइकन विद्युत प्राधिकरण सञ्चालन गर्न सकिंदैन भन्ने सन्देश यसले दिन्छ।”

तर पछिल्लो घटनाले प्राधिकरणमा त्रासको वातावरण सृजना गर्न सक्ने चिन्ता जलस्रोत मामिलाका जानकार रत्नसंसार श्रेष्ठको छ।

“अब एक प्रकारको आतंकको वातावरण त बन्छ, कुनै पनि काम गर्दा हस्ताक्षर गर्दा अख्तियारले तान्लाकी भन्ने डर अब बढ्छ,” श्रेष्ठले भने।

अख्तियारका अधिकारीको भनाइमा जारी अनुसन्धान सिध्दिएपछि प्राधिकरणबाट भएका यस्तै खाले अन्य ट्रान्सफर्मर खरीद प्रकरणमाथि अनुसन्धान शुरु गर्ने तयारी भइरहेको छ।