'रासायनिक हमलामा' सैयौं मारिएको दावी

  • 21 अगस्ट 2013
घाइतेहरु
Image caption विपक्षीहरुले 'रासायनिक हमला'मा सैयौं मानिसहरु मारिएको दावी गरेका छन्।

विपक्षी गठबन्धनले दमस्कसको बाहिर तर्फ रहेको घाउता क्षेत्रमा बुधबार बिहान रकेटबाट विषालु ग्यांसहरु प्रहार गरिएको जनाएको छ।

तर सरकारी समाचार संस्था सानाले ती दावीहरु आधारहीन रहेको र राष्ट्रसंघीय अस्त्र निरीक्षकहरुको ध्यान अन्यत्रै तान्न त्यस्तो आरोप लगाइएको जनाएको छ।

मुख्य विपक्षी समूह, न्याशनल कोयलियसन, ले झण्डै साढे छ सय मानिसहरु मारिएको जनाएको छ।

तर यसको स्वतन्त्ररुपमा पुष्टि हुनसकेको छैन।

एएफपि समाचार संस्थाका अनुसार अरब लिगले राष्ट्रसंघीय निरीक्षणकर्ताहरुलाई घटनास्थलमा गएर जांच गर्न आह्वान गरेको छ।

हमला

सरकारी सैन्यद्वारा विद्रोही लडाकुहरुविरुद्ध जारी व्यापक बम हमलाका क्रममा पछिल्लो हमला गरिएको थियो।

विपक्षी कार्यकर्ताहरुले यु ट्युबमा प्रकाशित गरेका भिडियोहरुमा केटाकेटी सहित कैयौं बिरामीहरुको अस्थायी चिकित्सा केन्द्रहरुमा उपचार भैरहेको देखाइएको छ।

कैयौं पीडितहरुले सास फेर्न गाह्रो भैरहेकेा तथा हलचल गर्न नसक्ने स्थितिमा रहेको देखाइएको छ।

स्वेडिश समाचारसंस्था टिटि न्युज एजेन्सीसंग कुरा गर्दै सिरियास्थित राष्ट्रसंघीय अस्त्र निरीक्षक टोलीका प्रमुख ओक सेल्सट्रियमले आफुले पनि ती भिडियोहरु हेरेको बताए।

उनले भने, "राष्ट्र संघका महासचिवले अह्राएमा हामीहरु घटनास्थल गएर निरीक्षण गर्नसक्छौं।"

गत आइतबार दमास्कस आइपुगेको सो टोलीले तीनवटा अन्य क्षेत्रहरुमा निरीक्षण गर्ने जनाइएको छ।

उनीहरुले गत मार्च महिनामा झण्डै छब्बीस जना मारिएको उत्तरी नगर खान अल असलको पनि भ्रमण गर्नेछन्।