बो सिलाइद्वारा आफ्नो जोडदार बचाउ

  • 22 अगस्ट 2013
बो सिलाइ
Image caption बो विरुद्ध आफ्नो शक्तिको दुरुपयोग गरेको भन्ने अभियोग पन‌ि लगाइएको छ।

चीनका एकजना भूतपूर्व शक्तिशाली नेता बो सिलाइले आफुमाथि लगाइएका आरोपहरुको खण्डन गर्दै आफ्नो जोडदार बचाउ गरेका छन्।

पूर्वी शहर जिनानस्थित एउटा अदालतमा करोडौं डलर भ्रष्टाचार गरेको भनि आफु विरुद्ध लगाइएको अभियोगको पनि उनले खण्डन गरेका थिए।

उनी माथि उनकी श्रीमतीले एकजना ब्रिटिश व्यापारीको हत्या गरेको घटनाको ढाकछोप गरेको भन्ने अभियोग पनि लगाइएको छ।

दशकौं यताको सबैभन्दा ठूलो राजनीतिक मुद्दामा बो सिलाइले आफ्नो जोडदार बचाउ गरे।

उनले आफुलाई अपराध स्वीकार्न वाध्य पारिएको आरोप पनि लगाए।

उनले आफ्नी श्रीमती लगायतका साक्षीहरुको बयान विश्वसनीय नभएको पनि दावी गरे।

दुई बर्ष अघिसम्म बो सिलाइलाई चिनियां कम्युनिष्ट पार्टीको शक्तिशाली पोलिटव्युरोको एकजना संभाव्य सदस्यको रुपमा हेरिन्थ्यो।

नेता

चोङचिङ प्रान्तमा उनलाई कम्युनिष्ट पार्टीको एकजना चामत्कारिक नेताको रुपमा पनि हेरिन्थ्यो।

तर गत फेब्रुअरी २०१२ मा एक दशकमा एक पटक हुने चिनियां नेतृत्व परिवर्तनको तयारी हुंदै गर्दा एकजना ब्रिटिश व्यापारी निल हेउडको हत्या प्रकरण सार्वजनिक भयो।

उक्त हत्याकालगि अदालतले बो कि श्रीमती गु काइलाई दोषी भएको ठहरा गरिसकेको छ।

बिहीबार बिहान शानडोंग प्रान्तको जिनानस्थित अदालतमा बो ले एकजना साक्षीलाई बहुला कुकुरको संज्ञा दिए।

उनले आफ्नी श्रीमतीको बयान हास्यास्पद रहेको पनि बताए।

आफ्नो लिखित बयानमा श्रीमती गु काइलाईले आफुले आफ्नो घरमा ठूलो रकम देखेको बताएकी थिइन्।

अदालतमा बोका पांचजना नातेदारहरु, १९ जना पत्रकारहरु तथा ८४ जना अन्य व्यक्तिहरु रहेको बताइएको छ। तर विदेशी संवाददाताहरुलाई भने प्रवेश दिइएको थिएन।

अभियोग

अदालतले सार्वजनिक गरेको विवरण अनुसार बो माथि डालियनमा कार्यालय रहेका दुईजना व्यापारीहरुबाट झण्डै पैंतीस लाख डलर घुस लिएको अभियोग लगाइएको छ।

उनले आफुले घुसको रुपमा कुनै रकम नलिएको बताए।

बो विरुद्ध आफ्नो शक्तिको दुरुपयोग गरेको भन्ने अभियोग पन‌ि लगाइएको छ।

सुनुवाइ दुई दिनसम्म जारी रहने र सेप्टेम्बर महिनको शुरुमा फैसला सुनाइने बताइएको छ।

चोङचिङमा बो सिलाइले आपराधिक गतिविधिहरुविरुद्ध कडा रवैया अपनाउनुकासाथै चीनको पुरानो कम्युनिष्ट आदर्शहरु प्रबर्द्धन गर्ने अभियान चलाएका थिए।

तर विश्लेषकहरु भन्छन्, उनको महत्वाकांक्षाका कारण उनले थुप्रै शत्रुहरु पनि कमाएका थिए र पार्टीका वरिष्ठ नेताहरु उनलाई एकजना विवादास्पद व्यक्तित्व ठान्दथे।