सिरियामा निष्पक्ष छानविनको आह्वान

  • 22 अगस्ट 2013
सिरियामा रासायनिक अस्त्र हमला
Image caption पिडितहरुको शरिरमा स्नायु ग्यासको असर जस्तो संकेत देखिएको बताइन्छ

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले सिरियाली राजधानी दमस्कसको बाहिरी क्षेत्रमा भएको भनिएको रासायनिक हमलाका सम्बन्धमा निष्पक्ष अनुसन्धानका निम्ति आह्वान गरेको छ।

बुधबार भएको उक्त हमलामा सयौं मानिसको ज्यान गएको ठानिएको छ।

सिरियाली सरकार र विपक्षी लडाकुहरु दुवैले त्यसका लागि एक अर्कालाई दोष दिएका छन्। सिरियाली सरकारी सैन्यले विपक्षी माथि रासायनिक अस्त्र प्रयोग गरेको अभियोगहरुपछि राष्ट्रसंघीय सुरक्षा परिषदको आकस्मीक बैठक बसेको थियो।

बैठकले, रासायनिक हमला भएको भनिएको विवरणहरुमा स्पष्टता हुनु पर्ने भन्दै, कुनै पनि परिस्थितीमा कुनै पनि पक्षले रासायनिक अस्त्रको प्रयोग गर्नु त्यो अन्तर्राष्ट्रिय कानूनको उलंघन हुने पनि बताएको छ। बक्तव्य

एकजना बीबीसी सम्बाददाता भन्छन्, पहिले नै सिरियामा रहेका राष्ट्र संघीय रासायनिक अस्त्र पर्यवेक्षकहरुलाई हमला भएको स्थानमा निर्वाध पहुंच दिनु पर्ने भनी सुरक्षा परिषदले कडा शब्दहरु सहित एउटा बक्तव्य तयार पारेको थियो।

तर त्यस्तो बक्तव्यलाई रुस र चिनले रोकिदिएका थिए।

अधिकारीहरु भन्छन्, आक्रमण स्थलमा जाने अनुमति हासिल गर्न राष्ट्र संघ र युरोपेली संघले कुटनीतिक प्रयास जारी राखेका छन्।

ति अस्त्र पर्यवेक्षकहरु आइतबार मात्र दमस्कसमा पुगेका थिए र तिनीहरु विगतमा सानो स्तरमा भएका भनिएका ग्यास हमलाहरुको अनुसन्धान गर्न त्यहां गएका हुन्।

पर्यवेक्षकहरुले अनुमति पाएमा आफू यो पहिलो घटनाको छानविन गर्न तयार रहेको बताएका छन्।

प्रतिक्रिया

ह्वाइट हाउसले सिरियामा भएको भनिएको रासायनिक अस्त्रको प्रयोगप्रति आफू गम्भीर रुपमा चिन्तीत भएको भन्दै प्रतिक्रिया जनाएको छ।

प्रवक्ता जेन साकी ले घटनाको पूर्ण छानविनको माग गर्दै भनिन्, "हामी संयुक्त राष्ट्र संघलाई यो नयां आरोपको तत्काल छानविन गर्न आह्वान गर्छौं र सबै देशहरुले स्थलमा गै सम्भव भएसम्मका सबै घटनाहरुको अनुसन्धान गर्ने राष्ट्रसंघीय छानविन टोलीको प्रयासलाई समर्थन गर्नुपर्छ।“

तर राष्ट्रसंघीय सुरक्षा परिषदमा सिरियाको एक महत्वपूर्ण साझेदारका रुपमा रहेको रुसले सिरियामा रासायनिक अस्त्र आक्रमण विपक्षीहरुको काम भएको भन्ने प्रमाण रहेको दाबी गरेको छ। आक्रमणमा परेकाहरुको उपचार गरिरहेकाहरुले बिबिसीलाई बताए अनुसार प्रभावितहरुमा निस्सासिने, मुखमा फिंज आउने तथा आँखा धमिलो हुने समस्या देखिएको छ । ईन्टरनेटमा सार्वजनिक गरिएका भिडियोहरुमा देखिएका मानिसहरुका शवमा बाहिरी घाउ देखिंदैन तर शरिर पहेंलो देखिन्छ । स्वतन्त्र रुपमा पुष्टि हुन नसके पनि बिज्ञहरु भन्छन यी लक्षणहरु स्नायु ग्यास सरिनको प्रभावपछि देखिने लक्षणसंग मिल्दा जुल्दा छन् ।