माओवादीका नेता, कार्यकर्ताले मतदाता सूचीमा नाम नलेखाउने

  • 22 अगस्ट 2013
निर्वाचन आयोग
Image caption आयोगले मतदाता सूचीमा नाम दर्ता गर्ने अभियान अब फेरि खोल्न नसकिने बताएको छ

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकर्ताहरुको नाम मतदाता सूचीमा दर्ता नगराउने भनेपछि उसले आगामी मंसिर ४ गतेको चुनावमा भाग लिने सम्भावना क्षीण बनेको विश्लेषकहरुले बताएका छन्।

हाल निर्वाचन आयोगले छुटफुट मतदाताहरुको नाम दर्ता गर्न शुक्रबारसम्म चल्ने एक हप्ते अभियान सञ्चालन गरिरहेको छ।

आयोगले भाद्र ७ गते सकिन लागेको उक्त अभियान फेरि खोल्न नसकिने बताइसकेको छ।

आक्रोशको पारो

निर्वाचन आयोगले चुनावी प्रकृया थाल्दा नै नेकपा-माओवादीले त्यसप्रति आक्रोश व्यक्त गरेको थियो। सघन वार्ताको सिलसिला माझ पनि उसको आक्रोशको पारो झरेको देखिन्न।

त्यसैले ऊ मतदाता नामावली दर्ताको पछिल्लो अवसर छोप्ने पक्षमा छैन।

“निर्वाचनको विषय टुंगो नलागेको अवस्थामा हामी यस अभियानमा सहभागी हुन्नौं,” उक्त दलका सचिव देव गुरुङ्ले बताए।

तर अब फेरि मतदाता सूची दर्ताको निम्ति निर्वाचन आयोगले ढोका नखोल्ने जनाएको छ।

“हामीलाई यो एक साताको निम्ति मतदाता सूचीमा दर्ता खुला गर्न समेत अप्ठेरो परेको थियो। तर अब यसपछि हामी फेरि खोल्न सक्दैनौं,” एकजना आयुक्त अयोधीप्रसाद यादवले भने।

अनिश्चय

आयोगको अडानलाई आधार मान्दा नेकपा-माओवादीसँग सहमति भयो भने मंसीर ४ गतेको चुनाव सम्भव देखिन्न।

तर एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ भन्छन्, “वार्ता एक, दुई दिनमा सफल भएन भने शायद वहाँहरु चुनावमा भागै नलिने कारण सफल हुँदैन होला।”

सरकार पक्षीय दल वार्ता र चुनावी तयारीलाई सँगसँगै लग्ने मनस्थितिमा देखिन्छन्।

तर सहमतिको विन्दू भेटिए मंसिर ४ गतेको चुनाव जुनसुकै बेला स्थगित हुनसक्ने सम्भावना समेत रहेको नेता श्रेष्ठले संकेत गरे।

“मंसिर ४ गते चुनाव हुने भन्दा चुनाव हुने मुख्य कुरा हो। तर अहिले हामी मंसिर ४ गते नै चुनाव होस् भन्ने चाहन्छौं,” श्रेष्ठले बताए।

उच्चस्तरीय समितिले विहिबारै नेकपा-माओवादी सहितको मोर्चासँग वार्ता गर्दैछ।

विगतमा जस्तै विहिबारको वार्तालाई पनि निर्णायक बनाउने नेताहरुले बताएका छन्।

तर विफल वार्ताको श्रृँखलामा विराम लागिहाल्ने सम्भावना न्युन नै देखिन्छ।