सहकर्मीको ज्यान लिने अमेरिकि सैन्य चिकित्सक दोषी ठहर

  • 24 अगस्ट 2013
निदाल हसन
Image caption मेजर हसनले अफ्गानिस्तानका मुसलमान विद्रोहीहरुको रक्षाका लागि आफूले कार्य गरेको बताएका छन्

अमेरिकामा, सन् २००९ मा टेक्सस राज्यस्थित फोर्ट हुड सैनिक आखाडामा आफ्ना १३ जना सहकर्मीलाई गोली हानी मारेका, अमेरिकि सेनाका एकजना भूतपूर्व मनोचिकित्सकलाई उनी विरुद्धका सबै अभियोगमा दोषी ठहर गरिएको छ।

नियोजित हत्याको १३ वटा अभियोग र हत्याको प्रयास गरेको ३२ वटा अभियोगमा दोषी ठहर भएपछि उनलाई मृत्युदण्डको सजायं हुन सक्छ।

ती मनोचिकित्सक मेजर निदाल हसनले अफ्गान‌िस्तानमा तालेवान विद्रोहीहरुको रक्षा गर्न आफूले निशस्त्र अमेरिकी सैनिकहरुमाथि गोली चलाएको बताएका थिए।

दोषी

दोषी ठहर गरिएको निर्णय सुनाईंदा भर्जीनिया राज्यमा जन्मेका मुसलमान मेजर निदाल हसनले अनुहारमा कुनै भाव देखाएका थिएनन् भने मृतक तथा घाइतेका परिवारजनले आंशु रोकेर फैसला सुनेका थिए।

सेनामा मनोचिकित्सकका रुपमा कार्यरत निदाल हसनले सन् २००९ को नोभेम्बर पांच तारिखका दिन, आफ्नो सैनिक अखाडामा समुद्रपार खटाइनु अघि परिक्षणका लागि आएका सैनिकहरुमाथि गोली चलाएका थिए।

अभियोजन पक्षका अनुसार उनले उक्त हमलाका निम्ति हप्तौं अघिदेखि सावधानीपूर्वक योजना बनाएका थिए।

हमलामा उनले १४६ वटा गोली चलाएका बताइएको छ।

एकजना गैरसैनिक प्रहरीले गोली हानेपछि मात्र मेजर हसनको हमला रोकिएको थियो।

त्यो गोलीको चोटपछि उनको कम्मर मुनीको भाग चल्दैन र उनी ह्वील चेयरको प्रयोग गर्छन्।

उनले कोर्ट मार्शलका क्रममा आफूले गरेको कार्य स्वीकार गरेका थिए।

अदालतमा उनी स्वयं नै आफ्नो मुद्दाको वकिलका रुपमा रहेका थिए।

शहीद

Image caption निदाल हसनले १३ जना निशस्त्र अमेरिकी सैनिकहरुलाई तिनीहरुको अखाडामा नै मारिदिएका थिए

अदालतले उनका लागि नियुक्त गरिदिएका कानूनी सल्लाहकारहरुले न्यायाधीशलाई बताए अनुसार मेजर हसन आफूलाई शहिदका रुपमा प्रस्तुत गर्न मृत्युदण्डको सजायं खोज्दैछन्।

अमेरिकि सेनाले सन् १९६१ देखि यता आफ्ना बहालवाला कर्मचारीलाई मृत्युदण्ड दिएको छैन।

अमेरिकि सेनाको फोर्ट लिभनवर्थ बन्दीगृहमा मृत्युदण्ड पर्खिरहेका पांचजना कैदीहरु छन् जो आफूलाई दिइएको सजायंको विरुद्ध विभिन्न चरणको अपील प्रकृयामा छन्।

मृत्युदण्ड कार्यान्वयन प्रकृयाको अन्तिम कदम भनेको त्यसप्रति अमेरिकी राष्ट्रपतिले दिने स्वीकृती हो।

यदि उनलाई मृत्युदण्ड दिइने हो भने, अदालतका सहयोगीका रुपमा रहेका जुरीले त्यस्तो सजायंका लागि एकैमतले निर्णय सुनाउनु पर्छ।

उक्त मुद्दाको दण्ड सुनाउने चरणको सुनुवाई सोमबार शुरु हुंदैछ।