'सिरियामा स्नायु विषको प्रयोग भएको संकेत'

  • 25 अगस्ट 2013
सिरियामा रासायनिक हमला
Image caption दमस्कस बाहिरको क्षेत्रमा गत बुधबार रासायनिक हमला भएको ठानिएको छ

अन्तर्राष्ट्रिय स्वास्थ्य परोपकारी संस्था, मेद्सां सों फ्रोन्तीए ले भनेको छ, सिरियामा उक्त संस्थाले सहयोग गरिरहेका अस्पतालहरुले स्नायु विषको प्रभावमा परेका संकेत देखिएको झण्डै तीन हजार छ सय जनाको उपचार गरेका छन् र ती मध्ये ३५५ जनाको ज्यान गएको छ।

सिरियाका विपक्षी कार्यकर्ताहरुले विद्रोही लडाकुहरु विरुद्ध रासायनिक हमला गरिएको भन्ने दावी गरेका २१ अगस्टको दिन, दमस्कस क्षेत्रका तीनवटा अस्पतालमा त्यस्तो लक्षण भएका विरामीहरु ल्याइएको थियो।

तर एमएसएफ ले, रासायनिक अस्त्रको प्रयोग भएको भन्ने तथ्यलाई वैज्ञानिक रुपमा आफूले पुष्टि गर्न नसक्ने जनाएको छ। सिरियाली द्वन्द्वका दुवै पक्षले रासायनिक हमलाका लागि एक अर्कालाई दोष दिने गरेका छन्।

समस्या

एमएसएफ का अनुसार, अस्पतालहरुमा तीन घण्टा भन्दा कम समयको अन्तरालमा निकै धेरै संख्यामा विरामीहरु, कम्पन, आंखाको पुतली फैलिएको र स्वासप्रश्वासको समस्या लिएर आएका थिए।

ती मध्ये धेरैलाई एक स्नायु विषको विरुद्ध दिइने एट्रोपाइन नामक औषधी मार्फत उपचार गरिएको थियो।

एमएसएफ का एकजना निर्देशक माईकल जेनसेन्सले भने, “विरामीहरुमा त्यस्तो लक्षण देखिनुको कारणलाई हामी बैज्ञानिक रुपमा पुष्टि गर्न सक्दैनौं र निश्चय नै त्यस्तो हमलाका लागि को दोषी थियो पनि भन्न सक्दैनौं। तर त्यहांका डाक्टरहरुले तीन हजार छ सय जनाको उपचार गरेको हामीसंग दावी गरेका छन्।“

एमएसएफ का अनुसार, विरामीहरुमा देखिएको लक्षण र छोटो समयमा एकदमै धेरै विरामीहरुको आगमन जस्ता तथ्यले कुनै प्रकारको स्नायु विष धेरै मानिसहरु माझ छोडिएको भन्ने तर्फ बलियो संकेत गर्दछ।

जुन अन्तर्राष्ट्रिय मानवीय कानूनको उलंघन हो, जस्ले कुनै पनि प्रकारको रासायनिक तथा जैविक अस्त्रको प्रयोगलाई पूर्ण रुपमा वर्जीत गरेको छ।

बालबालिका

सिरियामा जारी द्वन्द्वको पर्यवेक्षण गरिरहेको ब्रिटेनस्थित एउटा समूहले गत बुधबारको घटनामा कम्तीमा ३२२ जना मारिएका र ती मध्ये ५४ जना बालबालिका भएका बताएको छ।

विद्रोही लडाकुरु र विपक्षी कार्यकर्ताहरु राष्ट्रपति बशर अल असद समर्थक सैन्यले रासायनिक हमला गरेको आरोप लगाउंछन् भने सिरियाको सरकारी टेलिभिजनले विद्रोहीहरुलाई त्यसको दोष दिएको छ।

सरकारी टेलिभिजनका अनुसार पहिले विद्रोहीहरुको नियन्त्रणमा रहेका क्षेत्रमा सेना प्रवेश गर्दा रासायनिक अस्त्रहरुले भरिभराउ ब्यारलहरु फेला परेको थियो।

यो मुद्दामा अन्तर्राष्ट्रिय समुदाय विभाजित देखिन्छ। दमस्कसको साझेदारका रुपमा रहेका रुस र इरानले रासायनिक अस्त्र प्रयोग गरेको छुट्टाछुट्टै आरोप विद्रोहीहरुमाथि लगाएका छन्।

तर शनिवार फ्रान्सका विदेशमन्त्रीले, उपलब्ध जानकारीका अनुसार बशर अल असदको सरकार रासायनिक हमलाका लागि जिम्मेवार देखिएको बताएका थिए।