अमेरिकि विदेश मन्त्रीद्वारा सिरियाको कडा निन्दा

  • 27 अगस्ट 2013
अस्त्र निरीक्षकहरु
Image caption रासायनिक हमला भएको भनिएको ठाउँमा संयुक्त राष्ट्रसंघले अस्त्र निरीक्षकहरुलाई खटाएको छ

सिरियाको राजधानी दमस्कस वरपर हालै गरिएको रासायनिक आक्रमणलाई अमेरिकि विदेश मन्त्री जोन केरीले ‘नैतिक पतन’ को उदाहरणको रुपमा व्याख्या गरेका छन।

एक पत्रकार सम्मेलनमा बोल्दै केरीले यो हमला सिरियाली सरकारले नै गरेको भन्ने कुरामा कसै कसैले आशंका प्रकट गरेपनि यो एउटा अस्वीकार गर्नै नसकिने तथ्य हो भनि भनेका छन्।

हमलाबारे अमेरिकि प्रशासनसंग थप केही सुचना भएको जानकारी दिंदै उनले ती केही दिनमा सार्वजनिक गरिने पनि बताए।

सबैभन्दा कमजोर मानिसहरुमाथि सबैभन्दा घातक अस्त्र प्रयोग गरेकाले सिरियालाई जवाफदेही बनाउनु पर्ने राष्ट्रपति ओबामाको विश्वास रहेको पनि केरीले बताएका छन्।

उनले अगाडी भने “अब राष्ट्रपतिले आगामी दिनहरुमा कस्ता कदम चाल्ने भन्ने बारे निर्णय गर्नेछन्।”

गोली प्रहार

यसअघि सो हमलाबारे अनुसन्धान गरिरहेका संयुक्त राष्ट्रसंघका रासायनिक अस्त्र निरीक्षकहरु माथि गोली प्रहार गरिएको थियो।

सयौंको ज्यान गएको दमस्कस नजिकैका पाचँ मध्येको एउटा घटनास्थलमा जाँदै गर्दा, निरीक्षकहरुमाथि लुकेर गोली चलाइएको थियो।

निरीक्षकहरुले आफ्नो काम गरिरहेको जानकारी दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले भने, “निरीक्षकहरुले दुईवटा अस्पतालको भ्रमण गरे, घटनामा बाँचेकाहरु, प्रत्यक्षदर्शीहरु अनि चिकित्सहरुसंग अन्तर्वार्ता लिए र नमुनाहरु संकलन गरे। उनीहरु अहिले दमस्कस फर्कंदैछन्।”

संयुक्त राष्ट्रसंघका ती अस्त्र निरीक्षकहरुले गत साता रासायनिक हमला भएको भनिएको सिरियाको राजधानी दमस्कसको बाहिरी क्षेत्रमा झण्डै तीन घण्टा विताएका थिए।

परिषद विभाजित

Image caption रासायनिक हमला गरेको भन्दै अमेरिका तथा पश्चिमा देशहरुले सिरियाको कडा निन्दा गरेका छन्

सिरियामा भएको यो घटना पश्चात त्यसको प्रतिकृया स्वरुप अमेरिका तथा उसका समर्थक राष्ट्रहरुले सिरियामाथि सैनिक आक्रमण गर्ने लगायत बारे विचार गरिरहेको बताइएको छ।

यद्यपि सिरियालाई समर्थन गर्दै आएको रुसले त्यस विरुद्ब चेतावनी दिंदै आएको छ।

सिरियामा भएको यो घटनाका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद दुई भागमा विभाजित भएको छ।

रुस र चीन यो हमलाको प्रतिकृया स्वरुप सिरियामा सैनिक हस्तक्षेप गर्ने कुराको विपक्षमा उभिएका छन्।

तर ब्रिटेन र फ्रान्स सिरियामा ठुलो मानवीय सहयोगको आवश्यकता परे सुरक्षा परिषदको निर्णय विरुद्ब गएर भए पनि हस्तक्षेप गरिनु पर्नेमा जोड दिइरहेका छन्।

सिरियाली सरकारले भने उक्त रासायनिक हमलामा आफ्नो कुनै हात नरहेको भन्दै घटनाको दोष ‘आतंकवादी’ हरुलाई लगाउँदै आएको छ।