सिरियाले रासायनिक अस्त्र प्रयोग गरेकोमा 'शंका छैन': बाइडन

  • 28 अगस्ट 2013
अमेरिकी लडाकु विमान
Image caption अमेरिकाले आफ्नो सैन्य सिरियामा हमला गर्ने आदेश पालना गर्न तयार रहेको बताएको छ

सिरिया विरुद्ध संभावित जवाफी प्रतिक्रियाको तयारी भैरहंदा अमेरिकी उपराष्ट्रपति जो बाइडनले, सिरियाली सरकारले आफ्ना जनता विरुद्ध रासायनिक अस्त्र प्रयोग गरेको भन्नेमा “कुनै शंका” नभएको बताएका छन्।

अमेरिका र ब्रिटेनले सिरिया विरुद्ध हुने कार्वाही, दमस्कसमा सत्ता परिवर्तनका लागि नभई भविष्यमा रासायनिक अस्त्रको प्रयोगलाई निरुत्साहित पार्नका लागि मात्र हुने भन्नेमा जोड दिएका छन्।

रासायनिक हमलाका बारे अमेरिकाले आफ्नो गुप्तचर जानकारी सार्वजनिक गरेको छैन ।

तर अमेरिकी संचार माध्यमहरुले जनाए अनुसार, हमलाको घटनापछि गोप्य रुपमा सुनिएको सिरियाली प्रतिरक्षा अधिकारीहरुबीच भएको टेलिफोन कुराकानीको आधारमा, उक्त हमलाका लागि सरकारको जीम्मेवारी स्थापित हुन गएको छ।

परामर्श

सिरिया विरुद्ध कस्तो कार्वाही गर्ने भन्नेमा राष्ट्रपति बाराक ओबामाले विश्व नेताहरुसंग परामर्श जारी राखेका तर त्यसबारे अन्तिम निर्णय लिइनसकेका ह्वाइट हाउस ले जनाएको छ।

रक्षामन्त्री चक हेगलले राष्ट्रपति बाराक ओबामाको आदेश भएमा अमेरिकी सेना सिरियामा हमला गर्नका लागि तयार रहेको बताएका छन्।

गत साता सिरियामा भएको भनिएको रासायनिक हमला बारे संकलित गोप्य सुचना केहि दिन भित्र सार्वजनिक गर्ने ह्वाइट हाउसले जनाएको छ।

संभावित प्रतिकृयाबारे छलफल गर्न ब्रिटिश सरकारले पनि बिहिबार संसदको पुन बैठक गर्ने भएको छ।

ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले भने, “रासायनिक हमलाका कारण मानिसहरुले भोगीरहेको पिडा र मृत्यु देखेपछि विश्व चुप लागेर बस्न सक्दैन।“

अहिलेको संकट गत बुधबार सिरियाको राजधानी वरपरको क्षेत्रमा ३०० जना भन्दा बढी मानसको ज्यान जाने गरि भएको भनिएको रासायनिक हमला पछि निम्तिएको हो।

सहयोग

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलान्डले घटनाको जिम्मेवार जो हो त्यसलाई सजायं दिन फ्रान्स तयार रहेको बताउँदै सिरियाको मुख्य बिपक्षीलाई सैनिक सहयोग दिने निर्णय गरीएको जानकारी दिएका छन्।

सिरियाका बिपक्षी स्रोतहरुले सिरियामा अब छिट्टै पश्चिमा हस्तक्षेप हुने जानकारी आफुहरुलाई गराईएको बताएका छन् ।

Image caption सिरियाली विदेशमन्त्रीले रासायनिक अस्त्र प्रयोग गरेको भन्ने प्रमाण देखाउन चुनौती दिएका छन्

तर सिरियालाई समर्थन दिंदै आएका रुस र चीनले सिरियामा सैनिक हस्तक्षेप गर्ने कुरा विरुद्ध चेतावनी दिएका छन् ।

सिरियाका विदेशमन्त्री वालिद अल मुआल्लेमले आफुहरु माथि कुनै प्रकारको आक्रमण भएमा आफ्नो देशले हर किसिमले आफ्नो बचाउ गर्ने बताएका छन्।

उनले आफ्नो सरकारले रासायनिक अस्त्रको प्रयोग नगरेको भन्ने दावीलाई पुन: दोहोर्याएका छन्।

मुआल्लेमले भने, “म के कुरामा विश्वास दिलाउन चाहन्छु भने संसारको कुनै पनि देशले आफ्नै जनता विरुद्ध रासायनिक अस्त्रको प्रयोग गर्दैनन् र त्यसकै पुष्टिका लागि हामीले राष्ट्रसंघीय पर्यवेक्षकहरुलाई अनुसन्धानका लागि अनुमति दिएका हौं।“

आफ्नो सरकारले रासायनिक अस्त्र प्रयोग गरेको भनी अरोप लगाउनेहरुलाई त्यसको प्रमाण पेश गर्न पनि उनले चुनौती दिएका छन्।