'अझै ७ लाख मतदाता छुटे’

  • 30 अगस्ट 2013
election commission
Image caption निर्वाचन आयोगले नामावली दर्ताका लागि हप्ता दिन भन्दा बढी समय थप्न नसकिने बताएको थियो

निर्वाचन आयोगले मतदाताहरुको नाम दर्ताका लागि गत साता थपेको सात दिनको समयावधिमा पनि ठूलो संख्यामा मतदाताहरु छुटेको बताएको छ।

उक्त संख्या सात लाखको हाराहारीमा रहेको आयोगको अनुमान छ।

कम मतदाताले मात्रै नाम दर्ता गराउनुलाई कतिपयले समग्र राजनीतिक प्रक्रियाप्रतिको वितृष्णाका रुपमा अर्थाएका छन् भने केहीले निर्वाचन आयोगको व्यवस्थापकीय कमजोरी भनेका छन्।

निराशाजनक

गएको असार मसान्तमा बन्द गरेको मतदाताको नाम दर्ता गर्ने काम उच्चस्तरीय राजनीतिक समिति र केही असन्तुष्ट दलको अनुरोधमा आयोगले भदौ १ देखि ७ गतेसम्म पुन खुला गरेको थियो।

थपिएको समय यसअघि दर्तामा छुटेका भनिएका झण्डै ११ लाख मतदाताप्रति लक्षित थियो।

तर तीमध्ये झण्डै पौने दुई लाख मात्रै नाम दर्ता गराउन आए। यसलाई आयोगले निराशाजनक भनेको छ।

आयोगका प्रवक्ता वीरबहादुर राईले भने, "यो दर्ता संख्या सन्तोषजनक होइन। अझै पनि ६ देखि ७ लाख मतदाता छुटेको अनुमान छ।"

कमजोरी

खासगरी तराई केन्द्रित दलहरुले म्याद थप्नुपर्ने अडान राख्दै आएका थिए।

तर माग बमोजिम एक हप्ता म्याद थप्दा पनि छुटेका मतदाताको ठूलो संख्या नआउनुमा निर्वाचन आयोगको कमजोरी रहेको नेपाल सद्भभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बताउंछन्।

उनले भने, "गाउंगाउंमा गएर नामावली संकलन हुनुपर्नेमा निर्वाचन आयोग सदरमुकाममा मात्रै केन्द्रित भयो। गाउंका जनता आफ्नो काम धन्दा छाडेर नाम दर्ताका लागि कसरी आउन सक्छन्?"

वितृष्णा

तर झन्झटिलो प्रक्रिया र खासगरी राजनीतिप्रतिको वितृष्णाका कारण धेरै मतदाताहरु स्वेच्छाले नाम दर्ता गर्न नआएको समाजशास्त्री डम्बर चेम्जोङको बुझाइ छ।

उनले भने, "वितृष्णाको तह कति छ भनेर ठोकेर भन्न नसकिएपनि मतदाता नामावलीमा नाम दर्ता नगराउनुको पछाडि यो एउटा ठूलो कारण चाहिं हो।"

शत प्रतिशत मतदाताहरुले विश्वमा कही पनि नाम नलेखाउने हुनाले हाल दर्ता भएको मतदाता संख्यालाई कम भन्न चाहिं नमिल्ले आयोगले बताएको छ।