सिरियाविरुद्ध एकपक्षीय कारबाही गर्ने अमेरिकी संकेत

  • 30 अगस्ट 2013
अमेरिकी विदेशमन्त्री जन केरी
Image caption विदेशमन्त्री केरीले बरिष्ठ कंग्रेस सदस्यहरुलाई सिरिया कार्वाहीको तयारीका बारे जानकारी दिएका थिए

संयुक्त राज्य अमेरिकाले सिरियाविरुद्ध एकपक्षीय कारबाही गर्ने तयारी गरेको स्पष्ट संकेतका रुपमा विदेशमन्त्री जन केरीले कंग्रेसका वरिष्ठ सदस्यहरुलाई अरु देशको विदेश नीतिले अमेरिकालाई नरोक्ने बताएका छन्।

ब्रिटिश सरकारले संसदबाट सिरियाविरुद्धको सैनिक कारबाहीलाई अनुमोदन गराउन असफल भएपछि, विदेशमन्त्री केरीले कंग्रेस सदस्यहरुलाई सैनिक कारबाहीका सम्बन्धमा जानकारी गराएका थिए।

लण्डनमा, संसदीय मतदानमा पराजयपछि बोल्दै, ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले भनेका छन्, त्यसबाट संसद र ब्रिटिश जनता दुवै ब्रिटिश सैनिक कारबाही हेर्न अनिच्छुक रहेको स्पष्ट भएको छ।

अस्वीकार

त्यसअघि ब्रिटिश संसद, हाउस अफ कमन्समा, सांसदहरुले सिरियाका राष्ट्रपति बशर अल असदको सरकारलाई भविष्यमा रासायनिक अस्त्र प्रयोग गर्नबाट रोक्न, उक्त सरकारविरुद्ब गरिने ब्रिटिश सैनिक कारबाहीको प्रस्तावलाई अस्वीकार गरिदिएका थिए।

त्यससम्बन्धमा प्रस्तुत सरकारी प्रस्ताव संसदमा भएको मतदानमा १३ मतको अन्तरले पराजित भएको थियो।

सिरियाविरुद्ब सम्भावित सैनिक आक्रमणको पक्षका विचारहरुको नेतृत्व गरिरहेका प्रधानमन्त्री डेभिड क्यामरनका लगि यो एउटा लज्जास्पद हार थियो ।

सम्वाददाताहरुका अनुसार, अब अमेरिका तथा अरु साझेदारहरुसंगको क्यामरनको सम्बन्धमा अप्ठ्याराहरु उत्पन्न हुन सक्नेछ भने तथा देशभित्र पनि उनको नेतृत्वमाथि प्रश्न उठ्ने कुरामा कुनै शंका छैन ।

तर एक असाध्यै अलोकप्रिय नीति हुने जस्तो देखिएको विषयमा पराजित भएकामा क्यामरनले पक्कै पनि सन्तोष मान्नेछन्।

विदेशनीति

बीबीसीका राजनीतिक संवाददाता रस हकिन्स भन्छन्, ब्रिटिश संसदमा देखिएको मतदानको परिणामले, यसपटक ब्रिटेनको विदेश नीतिको निर्धारण प्रधानमन्त्रीले नभइ, विपक्षी र पदमा नरहेका सांसदहरुले गरेका छन्।

Image caption ब्रिटिश प्रधानमन्त्रीले संसदमा आफ्नो पराजयलाई ब्रिटिश जनताको चाहनाका रुपमा अर्थ्याएका छन्

तर अब केही पर्यवेक्षकहरु मतदानको यो नतिजालाई सिरिया र मध्यपूर्वका मानिसहरुले कुन अर्थमा लिनेछन् भन्ने सोचमा देखिएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघीय अस्त्र निरीक्षकहरुको टोलीले शनिबार मात्र सिरिया छाड्ने बताइएको छ।

तर ती निरीक्षकहरुले आफ्नो छानविनको अन्तिम प्रतिवेदन कहिले पेश गर्ने छन् भन्नेबारे राष्ट्रसंघले बताएको छैन।

सिरियामा संकलन गरिएका नमूनाहरुको प्रयोगशालामा गरिने परीक्षणका निम्ति लामो समय लाग्न सक्नेछ।

संदिग्ध रासायनिक हमलास्थलबाट लिइएका ती नमूनाहरुलाई विभिन्न युरोपेली देशहरुमा रहेका प्रयोगशालाहरुमा लगिने छ।

संयुक्त राष्ट्रसंघमा महासचिव बान की मुनले दमस्कसबाट आउने बित्तिकै राष्ट्रसंघीय टोलीको प्रारम्भिक विवरण सुन्नका लागि आफ्नो युरोप भ्रमण छोट्याएका छन् ।