मन्डेला अस्पतालबाट निवास फिर्ता

  • 1 सेप्टेम्बर 2013
एम्बुलेन्स
Image caption एक बर्षमा मन्डेलालाई चार पटक अस्पताल भर्ना गर्नु परेको छ।

दक्षिण अफ्रिकाका भूतपूर्व राष्ट्रपति नेल्सन मन्डेला अस्पतालबाट जोहानेसवर्गस्थित आफ्नो निवासमा फर्किएका छन्।

निवासमैं मन्डेलाको सघन उपचार जारी रहनेछ।

हिजो मात्र अधिकारीहरुले ९५ बर्षिय भूतपूर्व राष्ट्रपतिले अस्पताल छाडेको कुरा अस्वीकार गरेका थिए।

दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले जारी गरेको एक बिज्ञप्तीमा मन्डेलाको अवस्था अझै नाजुक र अस्थीर रहेको कुरा उल्लेख छ।

फोक्सोमा संक्रमण देखिएकोले दक्षिण अफ्रिकामा प्रजातान्त्रीक रुपमा निर्वाचित प्रथम राष्ट्रपति जुन महिनादेखि अस्पतालमा थिए।

अस्पतालमा उपचार गरी रहेकै टोली निवासमा मन्डेलाको उपचारमा खटिने कुरा पनि बताइएको छ।

एक बर्षमा मन्डेलालाई चार पटक अस्पताल लगिएको छ।

अल्पसंख्यक गोराहरुको शासन बिरुद्धको संघर्षको नेतृत्व गर्ने नोबेल शान्ती पुरस्कार विजेता मन्डेलालाई बिश्वले सम्मानको दृष्टीले हेर्ने गर्दछ।

संघर्षपूर्ण जीवन

२७ बर्षसम्म कारागारमा रहे पनि उनले गोराहरुको समुदायसित मेलमिलापको सिद्धान्त अपनाएका थिए।

कारागारमैं छँदा उनलाई क्षयरोग भएको थियो।

सन् १९९४ मा काला दक्षिण अफ्रिकीहरुले पहिलो पटक मतदान गर्न पाएका थिए।

त्यही निर्वाचन पछि मन्डेला पाँच बर्ष दक्षिण अफ्रिकाका राष्ट्रपति बने।

उनी सन् २०१० मा दक्षिण अफ्रिकामैं आयोजीत फुटबल विश्व कपमा अन्तिम पटक सार्वजनिक रुपमा देखा परेका थिए।