राई नेतृत्वको मोर्चा सशंकित

  • 1 सेप्टेम्बर 2013
मुख्य दलहरुबीचको वार्ता
Image caption सरकार समर्थक दलहरुले उपेन्द्र यादवसंग सहमति गरिसकेका छन् भने राई मोर्चासंग वार्ता जारी छ

आफुहरुसंगको वार्ता निचोडमा नपुग्दै अन्य पक्षसंग भएको सहमतिलाई राष्ट्रपति र सरकारलाई बुझाएको भन्दै संघीय समाजवादी पार्टिका अध्यक्ष अशोक राई नेतृत्वको मोर्चाले असन्तुष्टि प्रकट गरेको छ।

सरकार समर्थक मुख्य दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग साउनको अन्त्यमा भएको सहमति राष्ट्रपति र सरकार प्रमुखलाई शनिबार बुझाएको थियो।

झस्कियो

हाल वार्ताकै चरणमा रहेको राई नेतृत्वको संघीय समाजवादी पार्टीले संविधानसभा सदस्य संख्या ६०१ हुनुपर्ने तथा उच्चस्तरीय समिति भंग गरी सर्वदलीय सम्मेलन गर्नुपर्ने माग राख्दै आएको छ।

तर ऊ संगको वार्ताको निचोड अगावै ५८५ सदस्यीय संविधानसभा बनाउने उल्लेखित सहमति राष्ट्रपति र सरकारलाई बुझाएकोमा मोर्चालाई शंका लागेको एक नेताले बताएका छन्।

संघीय समाजवादी पार्टीले शनिबार सरकार समर्थक दलहरुविरुद्ध कालोझण्डा देखाएर विरोध प्रदर्शन समेत गरेको थियो।

आफूहरुले राखेका मागको विषयमा वार्ता अघि नबढ्दै उच्चस्तरिय समितिले उपेन्द्र यादव नेतृत्वको मोर्चासंग दुई साता अगाडि गरेको सहमतिलाई मात्रै राष्ट्रपति र सरकारसमक्ष बुझाएपछि राई नेतृत्वको मोर्चा झस्किएको हो।

“टुक्रा टुक्रा गरेर जसरी वहाँहरुले पठाउन खोज्नु भएको छ त्यो तरीका नै गलत छ। वहाँहरुमा समस्या समाधान गर्ने भावना नभएको यो एउटा ज्वलन्त उदाहरण हो। किनभने हामीसंगको वार्ता भंग भइसकेको छैन,” संघीय समाजवादी पार्टिका महासचिव राजेन्द्र श्रेष्ठले बताए।

जड

राई मोर्चामा पलाएको शंकाको मुख्य जड चाहीं कतै उनीहरुसंग सहमति नगरीकनै यादव मोर्चासंगको सहमतिलाई संविधान संशोधनमार्फत औपचारिकता प्रदान गर्ने उच्चस्तरीय समितिको ध्येय त होइन भन्ने रहेको छ।

तर समिति सम्बद्ध नेपाली कांग्रेसका एकजना नेता मिनेन्द्र रिजालका अनुसार शनिबार केवल पुरानो सहमति बुझाइएको मात्रै हो।

सहमतिहरुका आधारमा संविधान संशोधन गर्न आवश्यक बाधा अडकाउ फुकाउने संवैधानिक प्रावधान भने एकमुष्ट ढंगले अन्तिममा मात्र प्रयोग गरिने उनले बताए।