फ्रान्सले गुप्तचर प्रमाणहरु प्रस्तुत गर्ने

  • 2 सेप्टेम्बर 2013
एकजना राष्ट्रसंघीय विशेषज्ञ
Image caption राष्ट्रसंघले सिरियामा रासायनिक हतियार प्रयोग गरिएको भन्ने आरोपहरुको जांच गरिरहेको छ।

फ्रान्सका प्रधानमन्त्री जां मार्क एरोले सोमबार अबेर संसदीय नेताहरुसंगको भेटमा सिरियामा रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने आरोपहरुबारे फ्रान्सेली गुप्तचर सेवाहरुले संकलन गरेका प्रमाणहरु प्रस्तुत गर्नेभएका छन्।

सरकारी सूत्रहरुले भने, गुप्तचर सूचनाहरुले सिरिया सरकारले सरिन तथा मस्टार्ड ग्यास लगायत एकहजार टन भन्दाबढी घातक रसायन भण्डार गरेको देखाएका छन्।

राष्ट्रपति फ्रांस्वां अल्याण्डले सिरियामा सैन्य अतिक्रमण प्रस्तावको जोडदार समर्थन गरेका छन्।

तर ब्रिटेन र अमेरिकामा जस्तै त्यहां पनि संसदमा मतदान गराउन दबाब बढिरहेको छ।

फ्रान्सको संसदमा आउंदो बुधबार यस विषयमा बहस हुंदैछ, तर मतदान गराउने कार्यक्रम भने छैन।

यसै विषयमा अमेरिकी कङ्ग्रेसमा पनि आउंदो साता बहस हुंदैछ।

आह्वान

यसैबीच सिरियाले उ विरुद्ध कुनै संभाव्य अतिक्रमण रोक्न संयुक्त राष्ट्रसंघलाई आह्वान गरेको छा।

बीबीसीसंग कुरा गर्दै सिरियाका उपविदेश मन्त्री फैसल मकदादले भने, उनको मुलुक विरुद्ध गरिने कुनैपनि खाले अतिक्रमण अल कायदा र उसका सहयोगीहरुलाई मदत गरे सरह हुनेछ र त्यसले अमेरिका विरुद्ध घृणा बढाउने छ।

सिरिया सरकारको एक निकट सहयोगी रुसले सूचना संकलन गर्नकालागि एउटा पानी जहाज पूर्वी भूमध्य सागरमा पठाउन लागेको बताइएको छ। रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले भने, सिरिया सरकारले रासायनिक अस्त्र प्रयोग गरेको थियो भनेर अमेरिका तथा ब्रिटेनले प्रस्तुत गरेका प्रमाणहरुप्रति मस्कोको विश्वास छैन।

अमेरिकाले गत अगष्टमा बालबालिका तथा महिलाहरु सहित सैयौं जनाको ज्यान जाने गरी राजधानी दमस्कसको बाहिरी भेगमा गरिएको रासायनिक हमलामा सिरिया सरकारले घातक सरिन ग्यांस प्रयोग गरेको आफुसंग प्रमाण रहेको जनाएको छ।

राष्ट्रसंघीय अस्त्र निरीक्षकहरुले हालै गुतालगायतका क्षेत्रहरुको निरीक्षण गरी विभिन्न प्रमाणहरु संकलन गरेका थिए।

तर त्यहां रासायनिक हमला गरिएको थियो कि थिएन र त्यसकालागि को जिम्मेवार थियो भन्नेबारे उनीहरुको प्रतिवेदन आउन अझै केही समय लाग्ने बताइन्छ।

सबुत

यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाको राजधानी दमस्कस नजिकैको क्षेत्रमा सरिन नामक स्नायु प्रणालीमा असर गर्ने नर्भ एजेन्ट प्रयोग गरिएको बारे आफुसंग पक्का सबुत भएको बताएका थिए।

आपत्कालिन कामदारहरु मार्फत हमला स्थलबाट संकलन गरिएका रगत तथा कपालका नमुनाहरुको जाँच गर्दा सरिन प्रयोग भएको देखिएको उनले बताएका हुन्।

अमेरिकाले गत अगस्ट २१ मा सिरियाको राजधानीको बाहिरी भागमा भएको रासायनिक हमलाको दोष सिरियाली सरकारलाई लगाउँदै आएको छ।

राष्ट्रपति ओबामाले त्यसको बदलामा कारवाहीको अठोट गरेका छन्, तर त्यसका लागि पहिले अमेरिकी कंग्रेसको समर्थन चाहिरहेका छन्।