युवा दस्ता परिचालनले चुनाव प्रभावित हुने आयोगको चिन्ता

  • 2 सेप्टेम्बर 2013
निर्वाचन आयोग
Image caption दलहरुले युवा दस्ता परिचालन गरे भयरहित वातावरण बन्न नसक्ने निर्वाचन आयोगको चिन्ता छ

मुख्य राजनीतिक दलहरुले मतदान केन्द्रहरुमा युवा परिचालन गरे त्यसले उनीहरु बीच द्वन्द्व बढ्ने र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न गाह्रो पर्ने निर्वाचन आयोगका प्रवक्ताले बताएका छन्।

एकीकृत नेकपा माओवादी सम्बद्ध वाईसिएलले ‘एक बुथ दुई सय युथ’ भन्ने नारामा छलफल चलाईरहेको, तथा अन्य दलहरुले पनि आफ्ना युवा दस्ता परीचालन गर्ने तयारी गरीरहेको बेला, आयोगको यस्तो धारणा आएको हो।

असहज

चुनावको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरुले खासगरी युवाहरुलाई परिचालन गरेर माहोल आफ्नो पक्षमा पार्ने प्रयत्न गर्नु सामान्य जस्तै बनिसकेको छ।

तर मतदान केन्द्रहरुमा युवाहरु परिचालन गरिए दलहरु बीच द्वन्द्व बढ्ने र आम मतदाताले भयरहित वातावरणमा भोट हाल्न नसक्ने निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईको भनाई छ।

उनी भन्छन्, “उनीहरु मध्ये कुनै एउटा समूहले अर्कोलाई निषेध गरेर आफ्नो मात्रै उपस्थिति जनाउन खोज्ने हो भने भयरहित नहुन सक्छ। उनीहरुको उपस्थितिले असहज स्थिति पनि हुन सक्छ।”

परिचालन

निर्वाचन प्रयोजनकै लागि एकीकृत नेकपा माओवादी सम्बद्ध योङ्ग कम्युनिष्ट लिग वाइसिएलले अहिले चलिरहेको उसको राष्ट्रिय अधिवेशनमा ‘एक बुथ दुई सय युथ’ भन्ने नारालाई कसरी सार्थक बनाउने भनेर छलफल गर्दैछ।

एमाले, कांग्रेस र तराई केन्द्रित दलहरुले भने यसबारे अझै मुख नखोलीसकेपनि युवा दस्ता परिचालन गर्ने तयारी सबै दलहरुमा भइरहेको ठानिन्छ।

तर निर्वाचनलाई सहजीकरण गर्ने भन्दै युवा दस्ताहरु परीचालन गर्ने हो भने निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन कठिन हुने निर्वाचन आयोगका पूर्व पदाधिकारीहरुले चेतावनी दिएका छन्।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल भन्छन् युवा परिचालनका सकारात्मक पाटाहरु भएपनि विगतको अनुभव मीठो छैन।