पुटिनद्वारा पश्चिमा मुलुकहरुलाई चेतावनी

  • 4 सेप्टेम्बर 2013
पुटिन
Image caption पुटिनले राष्ट्रसंघको स्वीकृति बेगर गरिने कुनै पनि हस्तक्षेप एउटा अतिक्रमण हुने बताए

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा एकपक्षीय कारवाही नगर्न पश्चिमा मुलुकहरुलाई चेतावनी दिएका छन्।

तर सेन्ट पिटर्सवर्गमा जी २० मुलुकहरुको शिखर संमेलन अघि पुटिनले भने, उनी यदि सिरिया सरकारले आफ्नै जनता विरुद्ध रासायनिक हतियार प्रयोग गरेको विश्वस्त प्रमाण भेटिएमा उ विरुद्ध सैनिक हमला गर्ने राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावलाई रुसले समर्थन गर्न सक्नेछ।

राष्ट्रपति पुटिनले भने, राष्ट्रसंघको स्वीकृति बेगर गरिने कुनै पनि हस्तक्षेप एउटा अतिक्रमण हुनेछ।

अमेरिकी राष्ट्रपति ओबामाले रासायनिक हमला गरेकाले सिरिया विरुद्ध दण्डात्मक कारवाही गर्न आह्वान गरेका छन्।

तर सिरिया सरकारले ती आरोपहरुको खण्डन गरेको छ।

'हास्यास्पद'

एसोसियटेड न्युज एजेन्सी तथा रुसको सरकार नियन्त्रित च्यानल वन टेलिभिजनसंगको एक विस्तृत अन्तर्वार्तामा राष्ट्रपति पुटिनले भने, विद्रोहीहरुविरुद्धको लडाईंमा जीत हासिल गरिरहेका राष्ट्रपति असदले रासायनिक अस्त्र प्रयोग गरेको भन्ने भनाइ हास्यास्पद छ।

“यदि रासायनिक अस्त्र प्रयोग गरिएको र त्यसमा सिरियाली सेना संलग्न भएको कुनै विश्वासिलो प्रमाण छ भने त्यसलाई राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष प्रस्तुत गरिनुपर्दछ,” पुटिनले भने।

उनले भने, राष्ट्रसंघीय प्रस्ताव विना नै अमेरिकाले सिरिया विरुद्ध एकतर्फी कारवाही गरेमा रुसले के गर्छ भनेर अहिले नै भन्नु अलि चाँडो हुनेछ।

यसैबीच फ्रान्सका विदेश मन्त्री लराँ फेबियसले सिरियामा सम्भाव्य सैन्य अतिक्रमणको विषय मतदानकालागि संसदमा पेश नगर्ने आफ्नो सरकारको निर्णयको बचाउ गरेका छन्।

बुधबार अबेर फ्रान्सेली संसदमा हुन लागेको बहस अघि बोल्दै फेबियसले भने, “निर्णय नलिइने कुनै कामका बारे सांसदहरुलाई मतदान गर्न भन्नुको कुनै अर्थ रहंदैन।”

आदेश

फ्रान्सेली सेनाका सेना प्रमुख पनि भएकाले राष्ट्रपति फ्राँस्वा अल्याण्डले संसदको स्वीकृति नलिइकनै सैनिक कारवाहीकालागि आदेश दिन सक्दछन्।

संयुक्त राज्य अमेरिकामा सत्तारुढ तथा विपक्षी दलका सिनेटरहरुको एक समूहले सिरिया विरुद्ध पूर्व नियोजित तर सीमित सैन्य कारवाही गर्ने मस्यौदा प्रस्तावप्रति समर्थन जनाएको छ।

वाशिङटनस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, अमेरिकी जनताको समर्थन जुटाउने चुनौती भने राष्ट्रपति ओबामासामु छंदैछ।

पछिल्ला मत सर्वेक्षणहरुले सर्वेक्षणमा सहभागी दशजनामध्ये ६ जना अमेरिकी नागरिकहरु सिरिया विरुद्ध क्षेप्यास्त्र हमलाको विरुद्धमा रहेको देखाएका छन्।

गत मार्च दुईहजार एघारमा राष्ट्रपति असदविरुद्ध जनविद्रोह शुरु भएयता सिरियामा एकलाख भन्दा बढीको ज्यान गैसकेको विश्वास गरिन्छ।

राष्ट्रसंघीय शरणार्थी संस्था युएनएचसिआरले भनेको छ, बीसलाख भन्दा बढी सिरियालीहरुलाई शरणार्थीकोरुपमा सूचिकृत गरसकिएको छ र थप बयालिस लाखभन्दा बढी सिरियालीहरु देशभित्रै विस्थापित भएका छन्।

राष्ट्रसंघले भनेको छ, सन् १९९४ मा रवाण्डामा भएको जातीय आमनरसंहार यता यो नै सबैभन्दा नराम्रो शरणार्थी संकट हो।