'रासायनिक अस्त्र प्रयोगको प्रमाण भए एकिकृत कार्वाहीको दायित्व'

  • 4 सेप्टेम्बर 2013
राष्ट्रसंघीय महासचिव बान की मुन
Image caption महासचिव बान की मुनले सिरिया विरुद्धको कार्वाही वैधानिक हुनु पर्नेमा जोड दिएका छन्

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले भनेका छन् सिरीयामा रासायनिक अस्त्र प्रयोग भएको प्रमाणित भएमा त्यस प्रति एकिकृत भएर कारवाही गर्नु सुरक्षा परिषदको दायित्व हुन जान्छ।

तर उनले शक्तिको प्रयोग आत्मरक्षा र राष्ट्रसंघिय सुरक्षा परिषदको अनुमोदन पछि गर्दा मात्रै वैधानिक हुने पनि बताएका छन्। महासचिव बान की मुनले सिरियामाथिको संभावित सैनिक कारवाहिलाई गैरकानुनी भनि संबोधन नगरे पनि उनले त्यो आत्मरक्षाका लागि गरेमा वा सुरक्षा परिषदको समर्थनमा गरेमा मात्र त्यस्तो कदम न्यायोचित हुने बताए। उनले भने यदि सिरियामा रासायनिक अस्त्र प्रयोग भएको प्रमाणित भएमा, त्यस विरुद कार्वाही गर्न राष्ट्रसंघीय सुरक्षा परिषद एकजुट हुनु पर्दछ। त्यसका लागि आपसी मतभेद भन्दा माथि उठेर प्रतिक्रिया जनाउनु परिषदका सदस्यहरुको दायित्व हो। महासचिव बान की मुनले भने, “गतिरोधको हालको अवस्थाबाट अघि बढेर नेतृत्वदायी क्षमता देखाउनु पर्ने जिम्मेवारी सुरक्षा परिषदको हो। यो सिरियाको द्वन्द्व भन्दा पनि ठूलो मुद्दा हो, यो मानवजाति प्रति हामी सबैको सामुहिक उत्तरदायित्वको विषय हो।" तर सुरक्षा परिषदका दुई सदस्य राष्ट्रहरु रुस र चिनले असद सत्ता बिरुद्ध लक्षित सैनिक कारवाहीको निरन्तर बिरोध गरिरहेका छन् ।

हतार

रासायनिक अस्त्र प्रयोग हुनु भनेको अन्तर्राष्ट्रिय नियमको गंभिर उल्लंघन तथा अक्षम्य युद्ब अपराध भएता पनि सिरियामा तत्काल सैनिक हस्तक्षेप भएमा त्यसले झन गन्जागोल निम्तिने पनि महासचिव बानले बताए।

उनले सिरिया गएका अस्त्र निरिक्षकहरुले संकलन गरेको नमुनाहरुबाट रासायनिक अस्त्र प्रयोग भए नभएको जाँच गरिरहेको जानकारी गराएका छन्। बैज्ञानिक समयसिमालाई अफ्ठ्यारोमा पारिनु नहुने उनले बताए।

अमेरिका स्थित केहि कुटनितिज्ञहरुलाई, उनले व्यक्तिगत रुपमा जाँचमा, अझ दुई साता लाग्न सक्ने बताएका छन्.

प्रोत्साहन

अमेरिकी विदेश मन्त्री जोन केरीले अमेरिकी सिनेटरहरुलाई सावधान गराउँदै भनेका छन्- सिरियाली राष्ट्रपति असदद्बारा आफ्नै मानिसहरुमाथि गरेको अस्वीकार गर्नै नसकिने रासायनिक आक्रमणबारे प्रतिकृया दिन उनीहरु असफल हुनु हुँदैन। प्रतिक्रिया नजनाइकन छेउ लाग्दा, उनकै भनाईमा, अन्य तानाशाहलाई आम नरसंहारका अस्त्र विकसित गर्नका लागि झन प्रोत्साहन मिल्ने उनको भनाई थियो।

विदेशमन्त्री केरीले भने, “अगस्ट २१ मा दमस्कसमा भएको घटनाका बारे हामी जति विश्वस्त छौं, त्यस्तै नै असदले हाम्रो असंलग्नता र मौनतालाई दण्डहीन भएर त्यस्ता अस्त्रको थप प्रयोग गर्ने अवसरका रुपमा लिनेछन् “हामीले यसरी दण्डहीनताको अवस्था सिर्जना गर्यौं भने त्यो अन्य तानाशाह र आतंकवादीहरुलाई, परमाणु अस्त्र जस्ता आम नरसंहारका आफ्नै अस्त्रहरु निर्माण र प्रयोग गर्ने अवस्था सिर्जना गर्नु जस्तै हो।” यसै बिच रिपब्लिकनहरुका नेता जन बेनरले सिरियामा सैनिक हस्तक्षेप गर्ने राष्ट्रपति ओबामाको आह्वानलाई आफ्नो समर्थन रहेको अमेरिकी संसदमा बताएका छन्, जसका कारण राष्ट्रपतिले अझ बलियो समर्थन पाएका बुझिएको छ।