'सर्वदलीय सम्मेलन मान्दैनौं'

  • 5 सेप्टेम्बर 2013
निर्वाचन आयोग
Image caption निर्वाचन आयोगले आगामी सोमवारपछि असन्तुष्ट पक्षहरुलाई चुनावी प्रक्रियामा समेट्न नसक्ने बताएको छ

असन्तुष्ट पक्षमध्येको एक मुख्य घटक नेकपा-माओवादीले सर्वदलीय सम्मेलन आफूहरुलाई स्वीकार्य नभएको बताएको छ।

आफूहरुले माग गरेको गोलमेच सम्मेलन अशोक राई नेतृत्वको दलले उठाएको सर्वदलीय सम्मेलनसंग मेल नखाने भन्दै नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सो कुरा बताएका हुन्।

राईको दल संघीय समाजवादी पार्टी र मुख्य राजनीतिक शक्तिहरु सर्वदलीय सम्मेलन गर्न तथा संविधानसभालाई ६०१ सदस्यीय बनाउन सहमति नजिक पुगेको खबर सार्वजनिक भएका बेला नेकपा-माओवादीको त्यस्तो धारणा आएको छ।

‘सहमति’

संघीय समाजवादी पार्टी र मुख्य राजनीतिक शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक समितिबीच बुधवार भएको वार्तामा त्यस्तो सहमति नजिक पुगेको बताइएको छ।

यद्यपि सम्मेलनको विधि तथा त्यसले छलफल गर्ने सम्भावित विषयबारे कुरा मिल्न नसकेपछि सहमतिमा हस्ताक्षर भने हुन सकेन।

नेताहरुका अनुसार ती विषयलाई टुंग्याएपछि केही दिनभित्रै औपचारिक रुपमा सहमतिमा हस्ताक्षर हुनेछ।

तादाम्यता

बीबीसीसंग बिहीबार कुरा गर्दै नेकपा माओवादीका उपाध्यक्ष गजुरेलले आफूहरुको गोलमेच सम्मेलनको अवधारणासंग अन्य दलले सहमति गर्न लागेको सर्वदलीय सम्मेलनबीच कुनै तादाम्यता नरहने बताए।

उनले भने, "सर्वदलीय सम्मेलनको कुरा कसैको प्रतिष्ठा जोगाउन आएको होला तर यसले समस्याको समाधान निकाल्दैन।"

कुनै बेला एउटै मोर्चामा आवद्ध अशोक राई नेतृत्वको दलले सर्वदलीय सम्मेलनमा सहमति जनाएपनि आफूहरु त्यसमा राजी हुन नसक्ने उनको भनाइ थियो।

राष्ट्रपतिको सहजीकरणमा गोलमेच सम्मेलनका अतिरिक्त चुनावको मिति सार्नुपर्ने लगायतका माग नेकपा-माओवादीले राख्दै आएको छ।