जी २० को बैठकमा सिरियाको छायाँ

  • 5 सेप्टेम्बर 2013
ओबामा
Image caption राष्ट्रपति ओबामाले सिरिया विरुद्ध हमलाकालागि जी बीसका सदस्यहरुको समर्थन चाहेका छन्।

विश्वका प्रमुख अर्थतन्त्रहरुको समूह जी २० को बैठक रुसको सेन्ट पिटर्सवर्ग शहरमा शुरु भएको छ।

बैठकमा सिरियामा जारी द्वन्द्वको छायाँ पर्ने ठानिएको छ।

सिरियाली द्वन्द्वबारे एउटा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्ने प्रयासहरुलाई अघि बढाउन सिरियाकालागि संयुक्त राष्ट्र संघ तथा अरब लिगका दूत लखदर ब्राहिमी पनि सम्मेलनमा सहभागी हुंदैछन्।

बीबीसीका एकजना संवाददाता भन्छन्, आर्थिक मामिलामा केन्द्रित हुने दुई दिने बैठक गत महिना दमस्कस नजीकै गरिएको भनिएको रासायनिक हमलाप्रति कस्तो प्रतिकृया जनाउने भन्ने विषयमा संयुक्त राज्य अमेरिका र रुसबीचको मतभिन्नताले ओझेलमा पार्ने देखिन्छ।

अनुमोदन

राष्ट्रपति ओबामाले ती हमलाकालागि सिरिया सरकार जिम्मेवार रहेको बताउंदै सिरियामाथि सैन्य हमला गर्न अमेरिकी कँग्रेसको अनुमोदन चाहेका छन्।

तर रुसी राष्ट्रपति पुटिनले शङकै गर्न नमिल्ने ठोस प्रमाणहरु पाइएमा मात्र कुनै पनि सैनिक अतिक्रमणबारे सोंच्न सकिने बताएका छन्।

राष्ट्रपति ओबामा, ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरन तथा चिनियां राष्ट्रपति सि जिनपिङ बैठकका लागि सेन्ट पिटर्सवर्ग पुगिसकेका छन्।

सिरियाको विषय औपचारिकरुपमा एजेण्डामा नरहे पनि नेताहरुले छुट्टाछुट्टै सो विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

बीबीसीकी कूटनीतिक संवाददाता ब्रिजेट केण्डल भन्छिन्, संभाव्य अमेरिकी कारवाहीको विरोधमा रुसलाई चिनले साथ दिंदै आएको छ।

भारतले पनि कुनै सार्वभौम मुलुक विरुद्ध गरिने सैन्य कारवाहीको कुरा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको अनुमितबाट मात्र हुनुपर्ने कुरामा जोड दिएको छ।

समर्थन

त्यसो त राष्ट्रपति ओबामालाई फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ अल्याण्डले खुला समर्थन दिएका छन्।

सिरियाविरुद्ध सैन्य कारवाहीगर्ने प्रस्ताव ब्रिटिश संसदले अस्वीकार गरीदिएपछि प्रधानमन्त्री क्यामरनले त्यस्तो कारवाहीलाई आफ्नो कूटनीतिक समर्थन मात्र हुने जनाएका छन्।

टर्कीले लामो समयदेखि सिरियाका सैन्य अतिक्रमण गरिनुपर्ने पक्षमा रहंदै आएको छ भने सउदी अरेबियाले सिरियाली विद्रोहीहरुलाई समर्थन गर्दै आएको छ।

त्यसो त इटली लगायतका कतिपय मुलुकहरुले राष्ट्रसंघको अनुमतिविना सिरियामाथि सैन्य हमला गर्ने प्रस्ताव प्रति आपत्ती जनाएका छन्।

जी बीस समूहको बैठकमा सिरियाको विषय मुख्यरुपमा उठने ठानिंदै रहंदा सहभागी नेताहरुले विश्वव्यापी आर्थिक विषयहरुबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ।

छलफलमा बहुराष्ट्रिय कम्पनीहरुलाई कसरी बढी कर तिर्न लगाउने तथा कर छलीलाई कसरी दुरुत्साहित गर्ने जस्ता विषय पनि समेटिने ठानिएको छ।

अमेरिकी केन्द्रिय बैङ्क फेडरल रिजर्भले देशको अर्थतन्त्रलाई कृयाशील तुल्याउन उसले गर्दै आएको लगानी घटाउने अपेक्षा गरिंदा लगानीकर्ताहरुले उदीयमान अर्थतन्त्रहरुबाट तिनका लगानी फिर्ता गरी अमेरिकामै लगानी गर्न थालेका छन्।