सिरियाबारे बिश्व नेताहरु बिभाजित

  • 6 सेप्टेम्बर 2013
अमेरिकी र रुसी राष्ट्रपति
Image caption अमेरिकी र रुसी राष्ट्रपति सिरीयाको बिषयमा कुनै सहमतिमा पुग्न सकेनन्

रुसमा G20 शिखर बैठकमा भाग लिने ११ राष्ट्र सिरियामा रासायनिक अस्त्रको प्रयोग प्रति कडा अन्तर्राष्ट्रीय प्रतिक्रियाको आह्वान गर्न एक भएका छन्।

त्यस्तो कार्य दोहोरिन हुन्न भन्ने स्पष्ट सन्देश दिन सो एकता प्रदर्शन गरिएको हो।

एक संयुक्त बिज्ञप्तीमा अमेरिका,बृटेन,फ्रान्स, साउदी अरेबिया र जापान सहित ती राष्ट्रका नेताहरुले भनेका छन्, रासायनिक हतियार जहाँसुकै प्रयोग भए पनि त्यसले हरेक ठाउँका मानिसहरुको सुरक्षामा कमी ल्याइ दिन्छ।

राष्ट्र संघीय सुरक्षा परिषदको कडा कार्यवाहीको समर्थन गरे पनि उनीहरुले भनेका छन्, विश्व निरन्तर बिफल प्रक्रियाहरुलाई पर्खेर बस्न सक्दैन।

त्यस अघि रुसी राष्ट्रपति भ्लाडिमीर पुटीनले सो शिखर बैठकमा उपस्थित धेरै नेताहरु सिरिया बिरुद्धको सैनिक कार्यवाहीको बिरोधमा रहेको कुरा बताएका थिए।

उनले त्यस्तो हस्तक्षेपबाट अन्तर्राष्ट्रीय कानूनको उल्लङघन हुने आफ्नो बिश्वास पनि दोहो-याए।

शिखर बैठकको अन्त्यमा बोल्दै राष्ट्रपति ओबामाले भने," रासायनिक हतियारको प्रयोग सिरियालीहरुको दुर्भाग्य मात्र नभइ विश्व शान्ती र सुरक्षाको लागि खतरा हो।"

उनले भने, "पुटीन असहमत भए पनि धेरै मानिसहरु राष्ट्रपति असद जिम्मेवार रहेको बिश्वास राख्दछन्।"

चेतावनी

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले सिरिया विरुद्ध सैन्य कारवाहीको कुरालाई राम्रो संग सोंचविचार नगरिएको योजना भन्दै त्यसबाट दुखद परिणाम निस्कन सक्ने चेतावनी द‌िएका छन्।

विश्वका प्रमुख आर्थिक शक्तिहरु, G20 समूहको, रुसमा बैठक भैरहेका बेला उनले त्यस्तो चेतावनी दिएका हुन।

राष्ट्रसंघको औपचारिक निर्णय विना नै अमेरिकाको नेतृत्वमा सिरियामाथि हमला गरिने संभावना देखिंदै गर्दा संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले संबन्धित मुलुकहरुलाई वार्ताद्वारा समस्याको समाधान खोज्न फेरि आग्रह गरेका छन्।

महासचिव बानले भने, “सिरियामा रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने आरोप र बिग्रंदो मानवीय स्थितिले गर्दा सबै नेताहरुले यो समस्यालाई संबोधन गर्न उनीहरुको राजनीतिक इच्छाशक्ति तत्काल त्यसतर्फ केन्द्रित गर्न जरुरी छ। यो समस्याको सैनिक समाधान संभव छैन, केवल राजनीतिक समाधानले मात्र यो रक्तपात अन्त्य गर्न सक्छ।”

त्यसो त यसअघि पनि सिरियाली द्वन्द्वको राजनीतिक समाधान खोज्ने प्रयास पटक पटक गरिएका हुन्।

प्रयास

त्यस्तो प्रयास असफल भएपछि राष्ट्रसंघका भूतपूर्व महासचिव तथा सिरियाकालागि राष्ट्रसंघीय विशेष दूत कोफी आननले आफ्नो पदबाट राजीनामा दिएका थिए।

आननको ठाउंमा नियुक्त भएका सिरियाकालागि संयुक्त राष्ट्रसंघ तथा अरब लिगका दूत लखदर ब्राहिमी विश्व नेताहरुसंग कुरा गर्न अहिले रुस पुगेका छन्।

उनले भने, “सिरियाली संकट एउटा अत्यन्तै खतरापूर्ण स्थितिमा पुगिसकेको छ। सबैभन्दा पहिले सिरियाली जनताकालागि, त्यस क्षेत्र र विश्वकै लागि पनि। त्यसैले राष्ट्र संघका महासचिवले मलाई यहां पठाउनुभएको हो।”

ब्रिटिश सूत्रहरुले भने, फ्रान्स, टर्की, क्यानडा र ब्रिटेनले सिरिया सरकारले गरेको भनिएको रासायनिक हमलाकालागि सिरियामाथि सैन्य कारवाही गर्ने अमेरिकी राष्ट्रपति ओबामाको आह्वानप्रति दृढ समर्थन जनाएका छन्।

तर रुसी राष्ट्रपतिका एकजना प्रवक्ताले हतारमा कुनै कारवाही नगर्न चेतावनी दिएका छन्।

आलोचना

संयुक्त राष्ट्र संघमा बोल्दै राष्ट्रसंघकालागि अमेरिकी राजदूत, सामन्था पावरले सिरियाली सरकारको प्रमुख सहयोगीको रुपमा रहेको रुसको कडा आलोचना गरिन्।

उनले भनिन्,“रुस रासायनिक अस्त्र नियन्त्रणसंबन्धी महासन्धिको एक पक्ष राष्ट्र पनि हो। तर रासायनिक अस्त्र प्रयोग संबन्धी अन्तर्राष्ट्रिय नियमको खुल्ला उल्लंघन हुंदा पनि रुसले राष्ट्रसंघ सुरक्षा परिषदलाई बन्धक बनाउने काम जारी राखेको छ।”

अमेरिकी सरकारले सिरियाका राष्ट्रपति बसर अल असद समर्थित सैन्यले गत अगष्ट २१ तारिखका दिन राजधानी दमस्कस बाहिरको एक बस्तीमा विषालु ग्यांस हमला गरी महिला र केटाकेटी सहित चौधसय उनन्तीस जनाको हत्या गरेको आरोप लगाएको छ।

सिरियाले ती आरोपहरुको खण्डन गरेको छ।

राष्ट्रसंघीय अस्त्र निरीक्षकहरुले रासायनिक हमला गरिएको भनिएको स्थानबाट विभिन्न नमुनाहरु संकलन गरीसकेका छन्।

तर उनीहरुको प्रतिवेदन आउन केही समय लाग्ने बताइन्छ।