'गोलमेच गर्न अन्तिम परामर्श'

  • 7 सेप्टेम्बर 2013
खिलराज रेग्मी
Image caption सरकारले चुनावका सबै तयारी पुरा भइसकेको भन्दै दलहरुलाई आश्वस्त तुल्याउने प्रयास गरेको छ

सरकारले आयोजना गरेको सर्वदलीय बैठक मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले बहिष्कार गरेको छ।

असन्तुष्ट माओवादीको माग पुरा गर्ने विधिबारे पनि अन्तिम परामर्श भइरहेको एकजना नेताले जनाएका छन्।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, "नाम गोलमेच भने पनि जे भने पनि अघिल्लो संविधानसभामा रहेका सबै दलको सहभागिता रहने गरी बैठक गर्नेबारे कुरा भइरहेको छ, एकदुई दिनमा गर्ने नगर्ने टुंगो लाग्छ।"

सुरक्षा तयारी

चुनावमा सुरक्षा चुनौति खडा गर्न सक्ने ठानिएको असन्तुष्ट माओवादीको अनुपस्थितिमा भएको सर्वदलीय बैठकमा गृहमन्त्री माधव घिमिरेले सुरक्षा प्रबन्धबारे आश्वस्त पार्ने प्रयास गरेका थिए।

नेकपा एमाले नेता रघुजी पन्तले भने, "गृहमन्त्रीले मंसिर चार गते चुनाव गर्न सबै सुरक्षा प्रबन्ध मिलाइसकेको र सरकार चुनाव गराउन प्रतिबद्ध रहेको बताउनु भयो।"

सरकारका प्रवक्ता तथा संचार मन्त्री माधव पौडेलले बैठकपछि बीबीसीसँग कुरा गर्दै निर्धारित समयमै चुनाव गराउन सरकारलाई थप हौसला मिलेको प्रतिकृया दिए।

नेता पन्तले बैठकपछि संघीय समाजवादी पार्टीसँग उच्चस्तरीय राजनीतिक समितिले गरेको सहमति कार्यान्वयन भएको पनि बताए।

सहमतिपछि चुनावी तयारीको सिलसिलामा राजधानी बाहिर रहेका उक्त दलका अध्यक्ष अशोक राईको प्रतिकृया थियो, "म बहिर छु, पार्टीका उपाध्यक्ष जानु भएको थियो, रिपोर्ट पाइसकेको छैन् तर हाम्रो आग्रह अनुसार नै बैठक भएको हुनुपर्छ।"

शर्त

सरकारको निम्तो पत्रमा मंसीर चार गतेको चुनावबारे छलफल गर्न भनि डाकिएको र राजनीतिक सहमति हुन बाँकी रहेकाले बैठकमा नगएको नेकपा-माओवादीले जनाएको छ।

उक्त दलका सचिव देव गुरुङ्को भनाइ थियो, "सरकारलाई गोलमेच आयोजना गर्न दिने सहमति भयो भने त्यसै अनुसार गर्ने हो तर सहमति नहुँदै आयोजना गरिएको बैठकमा जानुको के अर्थ भनेर हामी गएनौं।"

दलहरुद्वारा जिल्लाजिल्लाबाट भटाभट भइरहेका सम्भावित उम्मेदवारको सिफारिस र सरकारको प्रतिबद्धताले मंसिर भार गते तोकिएको चुनाव अब त हुन्छ कि भन्ने आशा बढाउँदै लगेको देखिन्छ।

तर असन्तुष्ट कतिपय दलको चुनौतिका माझ जुनसुकै बेला सरकार पक्षीय दल समेत चुनावका विपक्षमा उभिने त होइनन् भन्ने आशंका पनि जीवितै पाइन्छ।