नयां विशेषता सहित दशैंमा ३० अर्ब बराबरको नयां नोट

  • 10 सेप्टेम्बर 2013

आउंदो दशैंलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले असोजदेखि वितरण गर्ने गरी झण्डै ३० अर्ब रुपैयां बराबरको नयाँ नोट बजारमा ल्याउने भएको छ।

बुद्ध नेपालमा जन्मिएको सन्देश अंकित रहने ती नोट दृष्टिविहीनहरुले पनि छामेर सजिलै चिन्ने खालको रहने उक्त बैंकले बताएको छ।

विशेषता

दशैको बेला ३० अर्ब रुपैया बराबरको नयाँ नोटको माग हुने अनुमान गरी नेपाल राष्ट्र बैंकले सो बराबरको विभिन्न दरका नोटहरु असोज पहिलो सातादेखि बजारमा पठाउने भएको छ।

नयां मात्रै होइन यसपटकका नोटहरुमा केही थप विशेषताहरु पनि देखिने बताउंछन्, बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली।

उनले भने, "हामीसँग जत्ति चाहिए पनि नयां नोट दिन सक्ने क्षमता छ। अहिले नयां प्रिन्ट भाको नोटमा 'लुम्बिनी द वर्थ प्लेस अफ लर्ड बुद्ध' र नोट निष्कासन गरेको साल उल्लेख गरेका छौं। दृष्टीविहिनले छामेर एउटा थोप्लो भए सयको, दुईटा भए पाँच सयको र तीनवटा भए हजार रुपैयाँको भनेर थाहा पाउने छन्। सय भन्दा कमको नोटमा यो सुविधा छैन।"

प्रशस्त

यसअघिका केही दशैंमा नयाँ नोटको अभाव हुँदा सर्वसाधारणमा आक्रोश पनि छाउने गरेको थियो।

तर यस वर्ष सर्वसाधारणले चाहे जति नोट वित्तिय संस्थाहरुबाट पाउन सक्ने प्रवक्ता ज्ञवालीको भनाई छ।

यसको लागि राष्ट्र बैंकले विशेष काउण्टर नै खोलेर नोट वितरण गर्ने उनले बताए।

खास गरी दशैंको अवसर पारेर नयाँ नोट निष्कासन गर्ने गरेको राष्ट्र बैंकले अघिल्लो दशैमा झण्डै २८ अर्ब रुपैंया बराबरको नोट बजारमा ल्याएको थियो।