सिरियाबारे ओबामाको सम्बोधन

  • 11 सेप्टेम्बर 2013
unsc
Image caption रुसी प्रस्तावमाथि छलफल गर्ने भनिएको राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक अन्तिम समयमा स्थगित भएको छ

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली सरकारले रासयनिक अस्त्र प्रयोग गरेको भन्नेसम्बन्धमा अमेरिकी नीति प्रष्टयाउन स्थानीय समय अनुसार मंगलवार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

गत महिना १ हजारभन्दा बढी मानिसको ज्यान लिएको भनिएको रासयनिक अस्त्र प्रयोगका लागि सिरियाली सरकार जिम्मेवार रहेको उनले बताए।

कूटनीति

उनले रासायनिक अस्त्रको भण्डार नष्ट गर्न सिरियालाई मनाउन रुसी प्रस्तावमाथि समेत काम गर्ने पनि बताए।

यद्यपि उनले कूटनीति विफल भए बल प्रयोग गर्ने विकल्प कायमै रहेको बताए।

ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ओबामाले सिरियामा सैनिक कारवाहीलाई आफूले अस्वीकार गर्दै आएको बताए किनकि बल प्रयोगबाट गृहयुद्ध अन्त्य हुने उनलाई विश्वास छैन।

तर गत अगष्ट २१ मा दमस्कस वरपरका क्षेत्रमा रासयनिक हतियार हमला भएपछि आफ्नो सोच बदलिएको उनको भनाई थियो।

स्वागत

अमेरिकी राष्ट्रपतिले सैनिक कारवाहीको विकल्पका रुपमा रुसी प्रस्तावको स्वागत गरे तर उनले थपे, “यो प्रस्ताव सफल हुन्छ वा हुंदैन भन्नेबारे बताउन अहिलेनै निकै छिटो हुनेछ।”

उनले भने, “कुनै पनि सहमतिले असदले आफ्नो प्रतिवद्धता पूरा गर्छन् भन्ने प्रमाणित गर्न जरुरी छ। तथापि यो प्रयासले बल प्रयोग विना रासायनिक अस्त्रको खतरा हटाउने सम्भावना बोकेको छ।”

मतभेद

सिरियाली रासायनिक अस्त्रलाई अन्तर्राष्ट्रिय नियन्त्रण मातहत राख्ने रुसी प्रस्तावमाथि संयुक्त राष्ट्रसंघमा कूटनीतिक विभाजन देखिएको भोलिपल्ट ओबामाको सम्बोधन आएको छ।

ब्रिटेन, अमेरिका र फ्रान्स एउटा निश्चित कार्यतालिका चाहन्छन् र विफलताका दुष्परिणाम किटान होस् भन्ने चाहन्छन्।

साथै वासिंगटनले, उसकै शब्दमा, ‍ऊ कुनै पनि अल्झाउने रणनीतिमा नफस्ने उल्लेख गरेको छ।

रुसले भने सिरियाली सरकारमाथि दोष लगाइएको कुनै पनि प्रस्ताव आफूलाई स्वीकार्य नहुने बताएको छ।